| मङ्लबार, कार्तिक २४, २०८३

मनास्लु पदमार्गको झोलुङ्गे पुलबाट खसेर पाँचवटा खच्चड मर्‍यो

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ३ स्थित सिर्दिबास र फिलिम जोड्ने झोलुङ्गे पुल भत्किएको छ । पुलमा रहेको स्ल्याब र जाली च्यातिँदा बिहिवार पाँच वटा खच्चड लडेर मरेको छ ।

फिलिमबाट सिर्दिबास तर्पm फर्किदै गरेको खच्चड पुलबाट चिप्लिर बूढीगण्डकीमा खसेको स्थानीयले बताएका छन् । ‘झोलुङ्गे पुल पहिले देखि नै जीर्ण थियो, पुलको दायाँ बायाँ काठ राखेर आउजाउ गर्दै आएको थियो तर अहिले काठ सबै कुहिएको छ, बेलुका माथिबाट खच्चड धपाउदै ल्याएदा ८ वटा खच्चड तल खोलामा चिप्लिएछ, पाँच वटा खच्चड मरेको छ’ वडा नं ३ का कर्मचारी विशाल गुरुङले भने ।
जीर्ण बनेको पुलको मर्मत सम्भार नहुँदा र दायाँबायाँ तर्फ राखिएको काठहरु कुहिँदा पटक पटक खच्चड पुलबाट चिप्लिर बुढीगण्डकीमा खसेर मरेको उनले बताए ।

उत्तरी गोरखाको मनास्लु पदमार्गमा पर्ने उक्त पुल जिर्ण हुँदा पैदलयात्रु, पर्यटकहरुलाई पनि सास्ती भएको छ । पर्यटक, भरिया र खच्चड लैजान पनि समस्या भएको उनले बताए । पुलबाट खच्चड खसेपछि तत्काल मर्मत गर्न गाउँपालिकाले प्रक्रिया सुरु गरेको चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले बताए ।

‘गाउँपालिकाको प्राविधिकलाई स्टमेट गर्न भनेको छु, तत्काल बनाउनुपर्नेछ’ उनले भने ‘तर दिगो सामाधान गर्न नयाँ पुल आवस्यक छ ।’ ‘अर्को झोलुङ्गे पुल बनाउने भनेर दुई वर्ष अघि नै ठेक्का भएको तर अहिले सम्म केही काम सुरु भएको छैन’ उनले भने ।

पुर्वाधार विकास कार्यालय गोरखाले भने पहिरोका कारण झोलुङ्गे पुल निर्माण कार्य रद्ध भएको जनाएको छ ।

‘दुई वर्ष अगाडि झोलुङ्गे पुल निर्माणका लागि डिपिआर भएर पनि टेण्डर आव्हान भएको थियो तर नजिकै पहिरो गएपछि सो ठाउँ उपयुक्त छैन भनेर टेण्डर रद्ध भएको हो’ कार्यालयका सब इन्जिनियर सन्तोष पन्तले भने । सोहि पदमार्गका लागि केही मिटर पर छुटै डिपिआर तयारी गरी पुल निर्माण गर्ने पर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्