| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका यातायात ब्यवशायीको गुनासै–गुनासो

यातायाताको क्षेत्रमा धेरै समस्या रहेको तर सरोकारवाला निकायले समाधानमा चासो नदिएको गुनासो गोरखाका यातायात ब्यवशायीले गरेका छन् । यातायात व्यवस्था कार्यालय कास्कीको आयोजनामा शुक्रवार गोरखा सदरमुकाममा भएको अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् ।

जिल्लामा चल्ने साना ठूला सवारी साधनको भाडा समायोजनका लागि प्रमुख जिल्ला अधिकारीलाई पटक पटक ध्यानाकर्षण गराउँदा सुनुवाई नभएको गोरखा मनकामना यातायात सेवा प्रालीका अध्यक्ष सुरेन लामिछानेले बताए । कार्यक्रममा उनले रातो प्लेटका टयाक्सीले यात्रु बोक्ने गरेपनि कारवाहीमा कडाई नहुँदा समस्या समाधान नभएको बताए ।

यातायात व्यवस्था कार्यालयसवारी कास्कीका कार्यालय प्रमुख डिल्लीराम रिजालले यातायात सेवाको व्यवस्थापन चुनौती, समस्या र समस्याका समाधानका उपायहरुका बारेमा प्रस्तुत गरेका थिए । गण्डकी प्रदेशले हाल सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ अनुसार कामकारवाही हुदै आएको उनले बताए । तर संघीय र प्रदेशको अधिकार स्पष्ट नभएको, संघीय ऐन संशोधन नहुनु, यातायात नीति नबन्नु, आर्थिक ऐनमा विविधता र अन्योलता रहनु लगायतका नीतिगत र कानुनी समस्याका कारण काम गर्न समस्या हुने गरेका उनले बताए । पर्याप्त जनशक्ति नहुनु, सेवा प्रवाहमा सिमित क्षेत्र रहदा सेवाग्राही पोखरामै आउनुपर्ने बाध्यता रहेको उनले बताए ।

यातायातको क्षेत्रमा रहेको समस्या समाधानका लागि प्रदेशमा एउटा यातायात निर्देशनालय स्थापना गर्ने, निर्देशनालय अन्तरगत रहने गरी सबै जिल्लामा यातायात कार्यालय खोल्ने, यातायात सम्बन्धी सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन कार्यविधि र कार्य पक्रिया सरल बनाउने र यातायात पूर्वाधार निर्माण र सुरक्षा संयन्त्र बढाउनु पर्ने लगायतका काम गर्नुपर्ने देखिएको उनले बताए ।

सोहि कार्यक्रममा गण्डकी प्रदेशका टूाफिक प्रहरी प्रमुख गोविन्द अधिकारीले प्रदेशको ट्राफिक व्यवस्थापन सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । उनले टूाफिक प्रहरीको जिम्मेवारी क्षेत्रहरु, टूाफिक प्रहरीको परिचालन अवस्था, टूाफिक व्यवस्थापन र सवारी दुर्घटनाको अवस्था, टूाफिक व्यवस्थापनका मुख्य चुनौती र समाधानका उपायहरुका बारेमा सहभागिलाई जानकारी गराएका थिए । सवारी साधन, सडक विस्तार र शहरीकरणको बृद्धीको अनुपातमा टूाफिक जनशक्ति अभाव, प्राविधिको अभाव, शहरी क्षेत्रमा अव्यवस्थित पार्किङ, सडक तथा फुटपाथको अतिव्रmमण, ग्रामीण ईलाकामा टूाफिक प्रहरीको इकाई नभएका कारण टूाफिक व्यवस्थापनमा चुनौती देखिएको उनले बताए ।

यातायात व्यवस्था कार्यालय सवारी कास्कीका कार्यालय प्रमुख डिल्लीराम रिजालको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना लगायतले धारणा राखेका थिए । कार्यक्रममा सहभागी ब्यवशायीले भने आफ्नो समस्या र गुनासो प्रमुख जिल्ला अधिकारी, मेयरलाई सुनाउन नपाएको भन्दै गुनासो गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी संकरहरी आचार्यले अर्को कार्यक्रममा सहभागी हुनुपर्दा पुरा समय दिन नपाएको बताए । मेयर कृष्णबहादुर रानाले कार्यपालिका बैठकमा सहभागी हुनुपरेकाले ब्यवशायीको सबै समस्या सुन्न नसकेको बताए । सरोकारवालालाई नै गुनासो सुनाउन नपाएपछि यातायात ब्यशवायीले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सबै पालिकाका प्रमुखहरु सहित छलफल हुनुपर्ने बताउँदै कार्यक्रमको औचित्यमाथि नै प्रश्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्