| मङ्लबार, कार्तिक २४, २०८३

सिर्दिबास, यारु आसपास संकटासन्न ‘ओत’ रहेको अनुमान

गोरखाको मनास्लु संरक्षण क्षेत्र अन्तर्गत बूढीगण्डकी नदीमा ओत नामको जनावरको बसोबास रहेको अनुमान गरिएको छ । वन विज्ञान अध्ययन संस्थान पोखराका उपप्राध्यापक ध्रुव जिसी नेतृत्वको टोलीले गरेको प्रारम्भिक अध्ययनमा त्यो क्षेत्रमा ओतको बसोबास रहेको पुष्टि हुने तथ्यहरू फेला परेको हो ।

अहिलेसम्मको अध्ययनबाट चुमनुब्रीको फिलिमदेखि जगत आसपाससम्मको बूढीगण्डकी नदीको किनारमा ओतको बसोबास रहेको हुन सक्ने सङ्केत पाइएको जिसीले जानकारी दिए । ‘बूढीगण्डकी किनारका केही ठाउँमा ओतको दिसा फेला पारेको छ’, उनले भने, ‘प्रयोगशाला परीक्षणपछि थप विवरण प्राप्त हुन्छ ।’ मनास्लु पदमार्ग अन्तर्गत चुमनुब्री गाउँपालिका ३ को ठाडो भ¥याङ आसपासको क्षेत्रमा ओतको बसोबास रहेको हुन सक्ने अनुमान गरिएको जिसीले बताए ।

कात्तिक दोस्रो हप्तादेखि गरिएको अध्ययन झन्डै एक वर्ष जारी र हने उनको भनाइ छ । उनका अनुसार नेपालमा तीन प्रजातिका ओत पाइन्छ । अहिलेसम्म नेपालमा युरेसियन, स्मुथ कोटेड र एसियन स्मल क्लड ओतको बसोबास रहेको पाइएको उनले बताए ।
नेपालमा पाइने सबै प्रजातिका ओतको छोटो खुट्टा, बलियो पुच्छर र मुखको वरिपरि सिकार पत्ता लगाउन सजिलो पार्ने ठाडा रौँहरू हुने जिसीले जानकारी दिए । ओत सिमसार अर्थात खोलानाला, नदी, ताल, पोखरी, समुद्रमा बस्दछन् । यिनीहरूका लागि लुक्न, भाग्न र आराम गर्नका लागि सिमसारको किनारा वा वरिपरि घना वनस्पतिको आवश्यकता पर्दछ । ओतले झिङे माछा, गँगटा, चरा, किरा, भ्यागुतालाई आहारा बनाउने गरेको छ ।

नेपाल सरकारले संरक्षित वन्यजन्तुको सूचीमा नराखे पनि अन्तर्राष्टिूय प्रकृति संरक्षण सङ्गठन (आईयूसीएन) ले भने सङ्कटासन्न जनावरको सूचीमा राखेको छ । वनको फँडानी गरिनु, डँढेलो लाग्नु, पहाडी क्षेत्रमा रहेका साना खोलाहरू सुक्नु, सिमसार, दलदले वा धापिलो क्षेत्रमा खेतीपाती तथा विकास निर्माणका काम गरिनु, नदी र खोलाबाट बालुवा र ढुङ्गा बढि झिकिनु जस्ता कारणले नेपालमा ओतको बासस्थान विनाश हुन थालेको उपप्राध्यापक जिसीले बताए ।

यस्तै पानीमा किटनाशक औषधि, रासायनिक विषादी, फोहरमैला मिसाउने गर्दा ओतको स्वास्थ्यमा प्रतिकूल असर परेको उनको भनाइ छ । यस्तै किसान र माछापालकहरूले ओतलाई शिकारका रूपमा लिएर आक्रमण गर्दा र छालाको व्यापारका लागि चोरी (सिकार गर्दा पनि ओतको संख्या कम हुँदै गएको वन विज्ञान अध्ययन संस्थानका अर्का प्राध्यापक सुवर्णराज घिमिरेले बताए । मनास्लु क्षेत्रमा ओतको बसोबास रहेको पुष्टि भएमा यहाँको जैविक विविधतामा थप टेवा पुग्ने उपप्राध्यापक ध्रुव जिसीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्