| सोमवार, कार्तिक २३, २०८३

किताब नआउँदा ‘विद्यार्थीको पढ्ने बानी हरायो’

केशव गुरुङ :

…रातारात तिम्रो पार्टीको पर्चा कसरी आउँछ
जहाँ परीक्षा सिद्धिनेबेलासम्म किताब आउँदैन…

चर्चित गजलकार प्रदीप रोदनको गजलले भनेजस्तै भर्खरै देशभर पार्टीको पर्चा छ्यापछ्यापी फिँजियो, चुनाव सकियो, तर कलिला बालबालिका पढ्ने पाठ्यपुस्तक अहिलेसम्म विद्यालयमा पुगेको छैन ।

शैक्षिक सत्र सुरु भएको दुई महिना बितिसक्दा साथमा पाठ्यपुस्तक नहुँदा विद्यार्थीको पढ्ने बानी नै बिग्रिएको अभिभावकहरुले गुनासो गर्न थालेका छन् । दिनभरि विद्यालय गए पनि घरमा पढ्ने पाठ्यसामग्री नभएको गुनासो उनीहरुको छ ।
कक्षा कोठामा प्रवेश गरेर विद्यार्थीहरुलाई सिकाउने सामग्री नहुँदा समस्यामा परेको गोरखाका शिक्षकहरुको समेत गुनासो छ । बोर्डिङ स्कूलका विद्यार्थी स्रोत साधनले सम्पन्न भएर धमाधम पढिरहँदा सरकारी विद्यालयका विद्यार्थी पुस्तक अभावले छटपटिएको गुनासो शिक्षक तथा अभिभावकको छ ।

विद्यालय सुरु हुँदा देखि समयमै पुस्तक नआउदा विद्यार्थीमा पढ्ने बानी नै हराउँदै गएको पालुङटार नगरपालिका–९ स्थित मदनेडाँडा माविका प्रधानाध्यापक रुद्र उप्रेतीले बताए । ‘जेठ ३ गतेदेखि पढाई सुरु गरेका थियाँै, तर अहिलेसम्म पुस्तक आइपुगेकै छैन, केही पुरानो पुस्तक पढिरहेका छन्’, उनले भने, ‘कक्षा ४, ७ र ९ को किताब आएको छैन ।’

विद्यार्थीको किताब हेरेर पढ्ने बानी शिक्षकले पनि पाठ्यपुस्तक हेरेर पढाउनुपर्ने बानी भएको हुँदा किताब अभावले पढ्न, पढाउन समस्या भएको उनले बताए । ‘जिल्लामा १० प्रतिशत किताब आको छ रे भन्ने सुनेको छु, विद्यालयले त्यो पनि पाएको छैन । अभैm एकहप्ता पर्खनु भनेको छ, खै कहिले आइपुग्ने हो थाहा छैन,’ उनले भने । विद्यार्थी, अविभाबकले किताब कहिले आउँछ भनेर बारम्बार सोध्ने गरेको उनले बताए ।

पाठ्यपुस्तक समयमै नआउँदा विद्यालयको कार्ययोजना अनुसार पठनपाठन अघि बढाउन समस्या भएको धार्चे गाउँपालिका ४ लाप्राक स्थित मणिकामदेवी माविका प्रधानाध्यापक धनबहादुर गुरुङ बताउँछन् । ‘विद्यालयमा पढाउन सुरु गरेको लामो सयम भइसक्यो अहिलेसम्म पुस्तक आएको छैन । पुरानो पुस्तक दिएर पढाइरहेका छौँ, त्यो पर्याप्त छैन’, उनले भने । पाठ्यपुस्तक नहुँदा प्रत्येक हप्ता लिने इकाइ परीक्षा प्रभावित भएको उनले बताए ।

त्यस्तै, उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका ३ सिर्दिबास स्थित बुद्ध माविमा पनि पुस्तक पुगेको छैन । सोमवार आरुघाटबाट पठाइदिएका छौँ भन्नु भएको छ, बाटो खराब भएकाले माछाखोलाबाट फिलिमसम्म खच्चडमार्पmत बोकेर ल्याउने कुरा भएको छ’, प्रधानाध्यापक प्रकाश घिमिरेले भने । कक्षा ८ को अग्रेजी र स्वास्थ्य विषयको किताब नआएको उनले बताए । अघिल्लो वर्ष वैशाखमै किताब आइसकेको भएता पनि यो वर्ष किताब आउन ढिलाई हुदा पठनपाठन प्रभावित बनेको घिमिरेले बताए ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघ गण्डकी प्रदेश सहसचिव प्रदीप खनालका अनुसार गोरखामा हालसम्म २० प्रतिशत मात्र पुस्तक आइपुगेको बताए । भौगोलिक रुपमा विकट भएकाले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड पोखराले गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकामा भने ८० प्रतिशत किताब पठाएको उनले बताए । यीबाहेक अन्य पालिकामा २० प्रतिशत मात्र पुस्तक जिल्लामा आइपुगेको उनले बताए ।

जिल्लाभर चारदेखि पाँच हजार सेट किताब आवश्यक रहेता पनि हालसम्म एक हजार सेटमात्र किताब आइपुगेको खनालले जानकारी दिए । मतपत्र छपाई र युक्रेन युद्ध, नेपाली कागजको अभावका नाममा कर्मचारीहरुले पुस्तक छपाईमा ढिलो गरेका कारण समयमै पाठ्यपुस्तक नआएको उनले बताए । गण्डकी प्रदेशका ११ वटा जिल्लालाई जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड पोखराले पुस्तक उपलब्ध गराउदै आएको छ । बुधबार (आज) गोरखा र लमजुङको पुस्तक पाउने पालो रहेकाले पोखरा किताब लिन पुगेको उनले बताए । पाठ्यक्रम फेरिएकाले सामुदायिक विद्यालयमा कक्षा ४ र ७ का विद्यार्थीसँग पुस्तक छैन् । जिल्लामा आवश्यकता अनुसार पुस्तकको पु¥याउन अभैm डेढ महिना लाग्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्