| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा भोट नहाल्नेको संख्या बढ्दै : ७२ हजार ७३२ मतदाताले भोट हालेनन्

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गोरखामा उल्लेखनीय रुपमा भोट नखसेको पाएको छ । ११ स्थानीय तह रहेको गोरखामा कुल २ लाख १८ हजार ५ सय ६३ मतदाता थिए । तीमध्य जम्मा एक लाख ४५ हजार ८ सय ३१ मतदाताले मात्र भोट हालेको जिल्ला निर्वाचन कार्यालयको तथ्यांकमा उल्लेख छ । कार्यालयका अनुसार जिल्लाभरका ७२ हजार ७ सय ७२ मतदाताले भोट हालेनन् ।

प्रतिशतका रुपमा हेर्दा ३३.२७ प्रतिशत मतदाताले भोट नहालेको पाइएको छ । २०७४ को स्थानीय तहको निर्वाचनमा ३०.७८ प्रतिशत मतदाताले भोट हालेका थिएनन् । तथ्यांक विश्लेषण गर्दा बिगतको तुलनामा गोरखामा भोट नहाल्नेको संख्या बढ्दै गएको देखिन्छ ।
कार्यालयका अनुसार जिल्लामा सबैभन्दा धेरै गोरखा नगरपालिकामा १० हजार ९९० मतदाताले भोट हालेनन् । कुल ३५ हजार ३१ मतदाता रहेको यहाँ २४ हजार ४१ मतदाताले मात्र भोट हाले। २०७४ को निर्वाचनमा यहाँ७२.३८ प्रतिशत मत खसेकोमा यो निर्वाचनमा ६८.६३ प्रतिशत मत मात्र खस्यो ।

पालुङटार नगरपालिकामा पनि बिगतको तुलनामा भोट नहाल्ने दर बढेको छ । कुल ३२ हजार ५९६ मतदाता रहेको यहाँ २१ हजार ९१९ मतदाताले भोट हाले । भने बाँकी १० हजार ६७७ मतदाताले भोट हालनन् । अघिल्लो निर्वाचनमा ६८.८३ प्रतिशत मत खसेको यहाँ यसपटक ६७.२४ प्रतिशत मत मात्र खस्यो ।

त्यस्तै जिल्लामा सबैभन्दा कम उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा एक हजार ७४५ मतदाताले भोट हालेको छैनन् । यहाँ कुल ५ हजार १०२ मतदाता थिए । ३ हजार ३५७ मतदाताले भोट हालेका थिए । अघिल्लो निर्वाचनमा ७४.८८ प्रतिशत मत खसेको यहाँ यस पटक ६५.८० प्रतिशत मात्र मत खस्यो । यहाँ १० प्रतिशत मतदाताले भोट हालेनन् ।

कुल १२ हजार ५ सय ९२ मतदाता रहेको अजिरकोट गाउँपालिकामा ८ हजार १३९ मतदाताले मात्र भोट हाले । बाँकी ४ हजार ४५३ मतदाताले भोट हालेनन् । २०७४ को निर्वाचनमा ६७.७८ प्रतिशत मत खसेको यहाँ यस पटक ६४.६४ प्रतिशत मात्र मत खस्यो ।

आरुघाट गाउँपालिका १८ हजार ६७६ मतदाता रहेकामा १२ हजार ५१४ मतदाताले मात्र भोट हाले भने बाँकी ६ हजार १६२ मतदाताले भोट हालेको छैन । अघिल्लो पटकको निर्वाचनमा ७०.५७ प्रतिशत मत खसेको यहाँ यस पटक ६७.०१ प्रतिशत मात्र मत खस्यो ।

गण्डकी गाउँपालिकामा पनि ५ हजार ३ सय ४१ मतदाताले भोट हालेनन् । कुल १८ हजार ५३१ मतदाता रहेको यहाँ १३ हजार १९० मतदाताले मात्र भोट हालेका छन् । यहाँ अघिल्लो पटकको निर्वाचनमा ७५.०४ प्रतिशत मत खसेको थियो भने यस पटक घटेर ७१.१८ प्रतिशत मात्र मत खस्यो ।

१० हजार ८८६ मतदातामा रहेका धार्चे गाउँपालिकामा दुईहजार ८० मतदाताले भोट हालेनन् । यहाँ जम्मा ८ हजार ३ मत खसेको थियो । यहाँ पनि अघिल्लो पटकको निर्वाचनमा ७५.७८ प्रतिशत मत खसेको थियो भने यस पटक ७४.२५ प्रतिशत मात्र मत खस्यो ।

भीमसेन थापा गाउँपालिकामा पनि कुल १९ हजार ७२२ मतदाता रहेकोमा ६ हजार ७४ मतदाताले भोट हालेनन् । यहाँ जम्मा १२ हजार ९३८ मत खसेको थियो । यहाँ पनि भोट नहाल्नेको संख्या बढ्दै गएको छ । २०७४ सालको निर्वाचनमा ७१.७९ प्रतिशत मत खसेको यहाँ यस पटक ६५.६० प्रतिशत मात्र मत खस्यो ।

त्यस्तै, शहीदलखन गाउँपालिकामा कुल २३ हजार ६१७ मतदाता रहेकोमा जम्मा १५ हजार ३९१ मत खसेको थियो । यहाँ पनि ८ हजार २२६ मतदाताले भोट हालेनन् । अघिल्लो पटक ७०.२४ प्रतिशत मत खसेको यहाँ यस पटक ६५.१७ प्रतिशत मात्र मत खस्यो ।
सिरानचोक गाउँपालिकामा कुल २१ हजार ३१८ मतदाता रहेकोमा १३ हजार १९९ मत खसेको थियो । ८ हजार ११९ मतदाता भोट हाल्नै आएनन् । यहाँ अघिल्लो पटक ६६.२५ प्रतिशत मत खसेको यहाँ ६१.९१ प्रतिशत मात्र मत खसेको छ ।

बारपाक सुलिकोट गाउँपालिकामा पनि ८ हजार ३९९ मतदाता भोट हाल्नै आएनन् । यहाँ कुल २० हजार ४९२ मतदाता रहेको छ भने जम्मा १३ हजार ९३ मत खसेको थियो । अघिल्लो पटकको निर्वाचनमा ६९.२२ प्रतिशत मत खसेको यहाँ यस पटक ६३.८९ प्रतिशत मात्र मत खसेको छ ।

यसरी विगतको तुलना गर्ने हो भने यस पटकको स्थानीय तहको निर्वाचनमा धेरै मतदाता भोट हाल्न गएनन् । धेरै युवाहरु रोजगारीका निम्ति विदेशी पलाउन हुनु, गाउँघरमा रहेका बुढापाकाहरु भोट हाल्न आउन नसक्नु र राज्यको नेतृत्वमा रहेको वर्गहरुले जनताको माग सम्बोधन गर्न नसक्नुका कारण भोट हाल्ने संख्या घटेको गोरखाका बद्री मास्के बताउँछन् । उनले भने, ‘गोरखामा धेरै युवा रोजगारका लागि विदेश गएका छन् । कुनै परिवार सहित पनि विदेशमा छन् । गाउँघरमा भएका बुढापाकाहरु भोट हाल्ने ठाउँसम्म कस्ले बोकेर ल्याउने ? उनीहरु आपैm त्यहाँसम्म जान सक्दैन ।

काठमाडौमा बसिरहेकाहरु कैयौँ भोट हाल्न जिल्ला गएनन् । जो सुकैले जितेपनि केही गर्ने होइन, जेसुकै गरोस भनेर पनि मान्छेहरु भोट हाल्न गएको छैनन् ।’ राजनीतिप्रति मानिसहरुको विष्तृष्ण बढ्दै गएको उनको तर्क छ ।

जति पटक भोट हाले पनि पुरानै नेतृत्व दोहोरिने परिपाटी भएको र उनीहरुबाट केही राम्रो काम गर्ने लक्षण नदेखिएको बताउदै अहिले जनताले स्वतन्त्र उम्मेदवारलाई छान्न थालेको उनले जानकारी दिए । राज्यको सिस्टमप्रति नै जनता फ्रस्टेट हुन थालेको र अहिले वडादेखि पालिकोको मेयरसम्म स्वतन्त्र उम्मेदवारलाई जिताउन थालेको उनले बताए । एउटा सामान्य काम गर्न पनि वर्षौँ लाग्ने, जहाँतहीँ भ्रष्टाचार हुने, महङ्गी बढ्दै गएको र जनप्रतिनिधिले जनताको खुसी, भलो हुने काम नगर्दा नेतृत्व प्रतिको जनताको विश्वास घट्दै गएको उनले बताए । त्यसैले पनि भोट नहाल्नेको संख्या बढ्दै गएको उनको भनाइ छ ।

मृत्यु भइसकेको व्यक्तिहरु आयोगको लिस्टमा अपडेट नहुनाले पनि यो समस्या आइपरेको पवनराम खनालले बताए । ‘कति मान्छे मृत्यु भइसकेता पनि निर्वाचन आयोगको भोट लिस्टमा नाम हटाएको हुदैन । त्यस्तै, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मीहरु चुनावको वेला चुनावमा खटिनुपर्ने हुन्छ । उनीहरुले भोट हाल्न पाउदैनन् । अर्को कुरा रोजगारीको शिलशिलमा विदेशमा धेरै नेपालीहरु छन, उनीहरु भोट हाल्नकै लागि मात्र पनि फर्किने कुरा भएन’ उनले भने ।

विगतको पाँच वर्षमा निर्वाचित जनप्रतिनिधहरुले जनता इच्छा, आकांक्षा पूरा गर्न नसकेको र राजनीतिक दलको घोषणा पत्रमा भएको कुराहरु पनि व्यवहारमा लागु गर्न नसकेको उनको आरोप छ । जनप्रतिनिधिहरुले केही भौतिक संरचना, बाटोघाटो निर्माण, केही ठाउँमा सडक पिच गरेको भएता पनि जनताले अनुभूति हुने खालका कार्यक्रमहरु ल्याउन नसकेका कारण पनि मतदाता रुष्ट भएर भोट हाल्न नगएको उनले तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्