
चुम्चेतका २७० घरमा बल्यो विजुलीबत्ती
दुर्गम उत्तरी गाउँबस्तीमा उज्यालो अभियान सञ्चालन गरिरहेको कादुरी एग्रिकल्चरल एड एसोसिएशन ब्रिटिस गोर्खाज् नेपालले चुमनुब्री गाउँपालिका ६ को २७० घरधुरीमा विजुली बत्ती सेवा प्रदान गरेको छ । चीनको सीमानामा रहेको सो वडाका विभिन्न गाउँबस्तीमा चुम्लिङ, चुम्चेत लघुजलविद्युत आयोजनाबाट ७० किलोवाट क्षमताको विद्युत उत्पादन गरी घरघरमा विजुली बत्ती उपलब्ध गराएको हो ।
आयोजनाको शुक्रबार एक समारोहका बीच उद्घाटन गरिएको छ । चुमनुब्री गाउँपालिकाका प्रमुख निमा लामा र कादुरी संस्थाका निर्देशक डाक्टर नारायण गुरुङले आयोजनाको उद्घाटन गरेका हुन् ।
चुम्चेत खोला(ताम्जाखोला) उत्पादित सो विजुली वडाभित्रका चुम्चेत, चुम्लिङ, सिप्चेत, थारोङ, ताज्यू, डुम्जे, रेञ्जम, घो, यार्चो र खारगुम्बा १९० घरधुरीमा वितरण गरिएको वडाअध्यक्ष सरोज लामाले जानकारी दिए ।
विजुली बत्ती पाएपछि गाउँलेहरु खुशी भएका उनले बताए । बत्ती बाल्न पाउने, कुटानी, पिसानी मिल चलाउन पाइने तथा अन्य विभिन्न काममा विद्युत उपयोग गर्न पाइने भन्दै गाउँले खुशी भएका उनले बताए ।
लघु जलविद्युत आयोजना उद्घाटन समारोहमा कादुरीका निर्देशक डाक्टर नारायण गुरुङले स्थानीय सिद्धगणेश आधारभूत विद्यालयलाई एकथान कम्प्यूटर, प्रिण्टर तथा फोटोकपी मेसिन प्रदान गरेका थिए । सो संस्थाको कोषबाट स्थानीय अति विपन्न तीनजनालाई रु १५ हजार का दरले आर्थिक सहायता प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै कादुरीका निर्देशक डाक्टर नारायण गुरुङले कादुरीले प्राय सबै गाउँबस्तीमा विद्युत सेवा प्रदान गरेको भन्दै अब बाँकी रहेका साम्दो, ड्याङ र राना गाउँमा पनि सेवा विस्तार गर्ने जनाएका थिए ।
चुमनुब्री गाउँपालिकाको प्राय सबै टोलमा विद्युत सेवा उपलब्ध गराएको भन्दै गाउँपालिकाका अध्यक्ष निमा लामाले कादुरी संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए । उज्यालो चुमुनुब्री गाउँपालिका अभियानमा कादुरीको योगदान अतुलनीय रहेको साथै विभिन्न खोला, नदीमा झोलुंगे पुल बनाउने काममा पनि कादुरीको सहयोग अद्वितीय रहेको भन्दै अध्यक्ष लामाले संस्थाप्रति आभार व्यक्त गरेका थिए ।
गत मंसीरबाट सुरु गरिएको सो आयोजना निर्माणको काम छ महिनापछि हालै सम्पन्न भएको वडाअध्यक्ष लामाले बताए । ती गाउँबस्तीका लागि यसअघि १५ किलोवाट क्षमताको विद्युत उत्पादन गरिएको थियो । सो विद्युत अपुग भएपछि हालै थप क्षमताको आयोजना सञ्चालन गरिएको वडाअध्यक्ष लामाले बताए ।




