
लामो समयदेखि अवरुद्ध गोरखा बजारको खानेपानी आइतबारदेखि सुचारु हुने
लामो समयदेखि अनियमित रहेको गोरखा बजारको खानेपानीको अबस्था आइतबारदेखि नियमित हुने भएको छ । विभिन्न बहानाबाजी गर्दै बजारमा पानी आपूर्ति गर्न नसकेको पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आइतबारदेखि नियमित हुने जनाएको हो ।
विद्युत आपूर्तिमा अनियमितताले लिफ्टिङ प्रणालीमा समस्या आएका कारण पानी वितरण अनियमितता भएको भन्दै संस्थाका व्यवस्थापक आशकाजी श्रेष्ठले संकलित पानीलाई पालो मिलाई आइतबारदेखि सहज बनाउने जनाए । ‘अहिले पनि आलोपालो प्रणालीअनुसार विभिन्न टोलमा धेरथोर वितरण गरिरहेका छौ’, उनले भने, ‘प्रणालीमा केही सुधार पनि आएको छ । अब आइतबारदेखि साविकको झै वितरण गर्न सक्छौँ ।’
यसअघि करीव दुई सातादेखि बजार क्षेत्रमा पानी वितरण हुन सकेको थिएन । गोरखा सदरमुकाम क्षेत्रमा शहिद लखन गाऊँपालिका ७ बुंकोटको छाङखोला र धोक्रेखोलाबाट लिफ्टिङ गरेर पानी आपूर्ति गरी वितरण हुदै आएको छ । ३ ठाऊँमा पानी लिफ्टिङ गर्नु पर्ने भएपनि विद्युत आपूर्ति नियमित हुन नसकेका कारण पानी संकलन र वितरणमा समस्या परेको श्रेष्ठले बताए ।
पानी नियमित हुन नसक्दा संस्था अन्तर्गतका १३ सय घरधुरीले खानेपानीको सास्ती खेप्दै आउनु परेको छ । दैनिक करीव १२ लाख लिटर पानी खपत गर्ने गोरखा बजारमा पानी ठप्प हुँदा उपभोक्ता समस्यामा थिए । अहिले दैनिक मागको एक चौथाई पानी पनि उपलब्ध हुन सकेको छैन । छाङखोला र धाक्रेखोलाको पानी तानेर वितरण गर्न नसके पनि दरौँदी वृहत लिफ्टिङ खानेपानी आयोजनासित समन्वय गरी उपभोक्तालाई पानी उपलब्ध गराउन संस्था चुकेको थियो ।
‘बजारमा पानी अभाव भएको थियो र ?’, दरौँदी वृहत लिफ्टिङ खानेपानी आयोजनाका इञ्जिनियर टिकाराम चालिसेले भने, ‘समस्या भएको भए त हामीसित मागेर वितरण गरेको भए हुन्थ्यो, तर कसैले पनि जानकारीसमेत गराउनु भएन ।’ पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ संस्थाले दरौँदी वृहत लिफ्टिङसित नियमित सम्पर्क, सहकार्य नगर्ने उनले बताए ।
अन्य सामान्य दिनमा पनि सदरमुकाम क्षेत्रमा माग भन्दा साढे ४ लाख लिटर खानेपानी अपुग हुने गरेको छ । सदरमुकामको अधिकाँश क्षेत्रमा खानेपानी वितरण गर्दै आएको पृथ्वीनारायण साना शहरी खानेपानी आयोजनाका अनुसार दैनिक १२ लाख लिटर पानीको माग छ । तर आपूर्ति भने दैनिक सरदर ८ लाख लिटर हाराहारीमा मात्रै हुने गरेको उपभोक्ता संस्थाका वार्षिक प्रतिवेदनहरुमा उल्लेख गरिएको छ ।
दैनिक ८ लाख लिटर पानी वितरण गर्दा पनि त्यसको ४५ प्रतिशत पानी चुहावट हुने गरेको संस्थाका पदाधिकारीहरु बताउँछन् । माग र आपूर्तिविच सन्तुलन गर्न नसकेकाले पृथ्वीनारायण खानेपानी आयोजनाप्रति उपभोक्ताले गुनासो गर्दै आएका छन् । आयोजना निर्माण र स्तरोन्नतिमा करोडौं रुपैयाँ खर्च भएपनि आयोजनाको पानी वितरणमा भने अपेक्षा अनुसार सुधार हुन सकेको छैन ।
केन्द्रीय प्रशारणको विद्युत अनियमित हुँदा प्रयोग गर्ने उद्देश्यले चार करोड भन्दा धेरै बजेट खर्च गरी सोलार प्यान जडान गरेपनि त्यसको समेत पालना नगरिएको पाइएको छ ।
नगर विकास कोषसँग २ करोड ८० लाख रुपैयाँ ऋण लिएर साना शहरी आयोजनाको निर्माण भएको हो । तर आयोजना निर्माण सम्पन्न भएको १८ वर्षसम्म पनि उपभोक्ता समितिलाई हस्तान्तरण भएको छैन । नगर विकास कोषको सावाँ र ब्याज गरि ३ करोड १५ लाख रुपैयाँ तिर्न बाँकी रहेको उपभोक्ता संस्थाले जनाएको छ ।
कोषलाई नियमित रुपमा तिर्नुपर्ने ब्याज समेत भुक्तानी हुन नसकेको पाइएको छ । कोषलाई ५२ लाख रुपैयाँ ब्याज मात्रै तिर्न बाँकी रहेको छ । कोषले उक्त ऋण मिनाहा गरिदिनु पर्ने र स्तरोन्नतीको काम सकिए लगत्तै उपभोक्तालाई हस्तान्तरण गर्नुपर्ने पृथ्वीनारायण साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले माग गरेको छ ।




