
ठूला नेताहरुले आफ्ना पालिका र वडामा पार्टीलाई हराए
शिव उप्रेती
गोरखा घर भएका दुई ठूला नेताहरुले आफ्नो पालिकामा आफ्नो पार्टीलाई जिताउन असफल भए । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफू संघीय परिषद अध्यक्ष रहेको जसपालाई पालुङ्टार नगरपालिकामा जिताउन सकेनन् ।
अर्का पूर्व उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका शीर्ष नेता नारायणकाजी श्रेष्ठले सिरानचोक गाउँपालिका र आफ्नै वडा वडा नं. ८ मा समेत माओवादीलाई जिताउन असफल भए ।
एमालेसित तालमेल गर्दा पनि भट्टराईले पालुङटार नगरपालिकामा चुके । त्यहाँ बिनातालमेल चुनाब लडेका माओवादी केन्द्रका उम्मेद्वार विवश चिन्तनले जसपाका उम्मेद्वारलाई भारी मतान्तरले पछि पार्दै विजयी भए ।
चिन्तनले सर्वाधिक ६,०७२ मत प्राप्त गरे भने नजिकका प्रतिस्पर्धी जसपाका उम्मेद्वार प्रेम गुरुङले ५,७१७ मत प्राप्त गरे । तेस्रो प्रतिस्पर्धी यसअघिका मेयर समेत रहेका कांग्रेसका उम्मेद्वार दीपकबाबु कँडेलले ४,९९७ मत प्राप्त गरेका थिए ।
पालुङटार १० वटा वडामध्य जसपाले जम्मा तीनवटा वडा मात्र जीत हात पा¥यो । गोरखाका अरु कुनै पनि पालिका र वडामा जसपाले जीत निकाल्न सकेन ।
त्यस्तै नारायणकाजी श्रेष्ठको सिरानचोक गाउँपालिकाको नेतृत्व नेपाली कांग्रेसका उम्मेद्वार ज्ञानेन्द्र गुरुङले हात पारे । ५,४०३ मत प्राप्त गरी उनले निकटत्तम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नवराज पुडासैनीलाई पछाडि पारेका हुन् । पुडासैनीले ४,१६८ प्राप्त गरेका थिए ।
उपाध्यक्षमा पनि कांग्रेसकी रीता देवकोटाले ४,८०४ मत प्राप्त गरी माओवादीकी पूर्णकुमारी ढकाललाई पराजित गरिन् । ढकालले ३,९०२ मत मात्र प्राप्त गरेकी थिइन् ।
त्यस्तै नेता श्रेष्ठको गृहवडा सिरानचोक ८ का नेपाली कांग्रेसका दलमान गुरुङले जीत हात पारेका छन् । गुरुङले ७१६ मत प्राप्त गरे भने श्रेष्ठका उम्मेद्वार नेकपा माओवादीका दीपक श्रेष्ठले ६६९ मत प्राप्त गरे ।
माओवादीले सो पालिकामा जम्मा तीनवटा वडा मात्र जित्न सफल भएको छ ।
त्यस्तै माओवादीका प्रभावशाली नेता तथा पूर्व स्थानीय विकास मन्त्री हितराज पाण्डेको वडामा माओवादी पराजित भएको छ । त्यहाँ नेपाली कांग्रेसका चेतबहादुर गुरुङले ७३० मत प्राप्त गरी विजय हाँसिल गरेका छन् । पाण्डेका उम्मेद्वार कमला विक ३९१ मत प्राप्त री तेस्रो स्थानमा छिन् ।
त्यस्तै माओवादीका अर्का केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इञ्चार्ज कृष्ण धितालको गृहवडामा माओवादी पराजित भएको छ । भीमसेन थापा गाउँपालिका वडा नं. २ मा कांग्रेसका नारायणप्रसाद भट्टराईले ७५२ मत ल्याई विजयी भएका छन् भने धितालका उम्मेद्वार शेषनाथ भट्टराईले ४८४ मत मात्र प्राप्त गरेका छन् । त्यस्तै केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष लेखबहादुर थापाको गृहवडा गोरखा नगरपालिकामा पनि माओवादीको हार भएको छ । त्यहाँ नेपाली कांग्रेसका रहमतुल्ला मियाँले ५७६ मत ल्याई विजयी भएका छन् । थापाका उम्मेद्वार जियाउर रहमान मियाँले २९२ मत ल्याई तेस्रो स्थानमा पुगे ।
कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका विपक्षी दलका पूर्व नेता सुरेन्द्रराज पाण्डेले पनि आफ्नो गृहनगर र गृहवडा जिताउन असफल भएका छन् । पालुङ्टार नगरपालिका नेकपा माओवादीका विवश चिन्तनले जीत हात पारेका हुन् । पालुंटार १ मा पाण्डेका उम्मेद्वार रेशमबहादुर थापालाई जसपाका उम्मेद्वार कृष्णबहादुर परियारले १४० मतले हराएका हुन् । सो वडा यसअघिको चुनावमा पनि पाण्डेले कांग्रेसलाई जिताउन सकेका थिएनन् ।
त्यस्तै कांग्रेसका अर्का केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठको गृहवडा आरुघाट गाउँपालिका वडा नं. ९ मा कांग्रेस हारेको छ । यसअघिको चुनावमा पनि उनका उम्मेद्वारले जित्न सकेको थिएन । सो वडामा दुवैपटक माओवादीले जीत हात पारेको छ ।
कांग्रेसकी केन्द्रीय सदस्य कमला पन्तले पनि यो चुनावमा आफ्नो पालिका र वडा जिताउन असफल भएकी छन् । जन्मस्थान रहेको गण्डकी गाउँपालिका र गृहवडा वडापनि माओवादीले जितेको छ । उनी मतदाता रहेको अजीरकोट गाउँपालिका र वडामा पनि कांग्रेसलाई जिताउन सकिनन् । अजीरकोट गाउँपालिका र वडा नं. १ मा माओवादीले नै जीत हाँसिल गरेको छ ।
एमालेका केन्द्रीय सदस्य रामशरण बस्नेत र अर्की केन्द्रीय सदस्य सम्झना देवकोटाको गृहनगर गोरखा नगरपालिकामा एमालेले पराजय खेपेको छ । आफै मेयरको उम्मेद्वार रहेको सो नगरपालिकामा माओवादीले जीत हात पा¥यो । देवकोटा तेस्रो स्थानमा पुगिन् ।
परिवार दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकालले पनि गृहपालिका र गृहवडा दुवैमा पार्टीलाई जिताउन सकेनन् । उनको घर रहेको भीमसेनथापा गाउँपालिका र वडा नं. ८ दुवैमा माओवादी केन्द्रले जीत हात पारेको हो । सो पार्टीका महामन्त्री प्रकाश थापाले पनि आफ्नो पालिका र वडा दुवैमा पार्टीलाई जिताउन सकेनन् । उनको घर रहेको सहिदलखन गाउँपालिकामा माओवादी केन्द्र र वडा नं. ८ मा नेपाली कांग्रेसले जीत हात पारेको छ ।
विशेष काम परेमा मात्र केन्द्रमा आउने, अन्यथा आफ्नै पालिका र वडामा सघन चुनावी अभियानमा लाग्न सबै पार्टी केन्द्रको निर्देशन थियो । निर्देशन अनुसार नेता भट्टराई, श्रेष्ठलगायतका नेताहरु एकसातादेखि गृहपालिका र वडामा चुनावी प्रचारमा थिए । तर प्राय सबै ठूला नेताहरुले आफ्ना पालिका र वडामा पार्टीलाई जिताउन सकेनन् ।




