
पुर्णिमाले गरिन् एउटै सिजनमा विश्वको तेस्रो र चौथो अग्लो हिमाल आरोहण
विश्वको तेस्रो अग्लो कञ्चञ्जङ्घा आरोहण गरेको ११ दिनपछि गोरखा आरुघाटकी पूर्णिमा श्रेष्ठले चौथो अग्लो ल्होत्से हिमालको सफल आरोहण गरेकी छिन् ।
आरुघाट निबासी श्रेष्ठले मंगलबार बिहान आठ बजे ८,५१६ मिटर अग्लो ल्होत्से सफल आरोहण गरेकी हुन् । यसअघि गत वैशाख २३ गते ८,५८६ मिटर अग्लो कञ्चनजंगाको सफलतापूर्वक आरोहण गरेकी थिइन् ।
श्रेष्ठ कारोबार आर्थिक दैनिकमा कार्यरत फोटो पत्रकारसमेत हुन् ।
यसअघि श्रेष्ठले विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै ८,१६७ मिटर अग्लो धौलागिरी(प्रथम), ८,१६३ मिटर अग्लो मनास्लु, ८,०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम, ८,५८६ मिटर अग्लो कञ्चनजंगा र ६,८१२ मिटर अग्लो अमदब्लम हिमालको आरोहण गरिसकेकी छिन् ।
ल्होत्से आरोहण सफल गरे लगत्तै अरु दुईवटा हिमाल पनि यही सिजनमा आरोहण गर्ने लक्ष्य राखेकी छिन् । ‘दुई हिमालको सफलतासंगै यही सिजनमा आठहजार मिटरभन्दा अग्लो अर्को हिमाल आरोहणको सपना बुन्दैछु’, उनले ट्वीटरमा लेखेकी छिन्, ‘यसपछि नेपालतर्फबाट चढ्ने सबै उच्च हिमालको आरोहण सकिनेछन् ।
तर हिम्मत र आँट मात्र भएर पनि नपुग्ने रहेछ ।’ आफ्नो हिमाल यात्रामा सहयोग गर्न पनि उनले अनुरोध गरेकी छिन् ।




