
चर्चित गायिका बनिन् धार्चेकी उपाध्यक्ष
‘म त चेली उत्तरी गोरखाको’ बोलको गीतकी गायिक सुनिला गुरुङ धार्चे गाउँपालिकाको उपप्रमुखमा विजयी भएकी छन् । मंगलबार सम्पन्न मतगणना अनुसार चर्चित गायिका गुरुङ माओवादीको तर्फबाट ३,७७९ मत प्राप्त गरी विजयी भएकी हुन् ।
गोरखा सांस्कृतिक समाजकी कोषाध्यक्षसमेत रहेकी उनी धार्चे गाउँपालिका ६ काशिगाउँ निवासी हुन् । उनी कलाकारिता क्षेत्रसंगै हाल राजधानीमा व्यवसाय पनि सञ्चालन गर्दै आएकी छिन् ।
उनी २०६५ सालदेखि कलाकारिता क्षेत्रमा उदाएकी हुन् । गायन कलाको १५ बर्षको दौरानमा उनले दर्जनौँ गीत गाएकी छिन् । विशेषगरी धार्चे क्षेत्रको लोकगीत संकलन गरी उनले गीति एल्बमहरु, म्युजिक भिडियोहरु बजारमा ल्याएकी छिन् । आफ्नै लगानीका १२ भन्दा धेरै म्युजिक भिडियोहरु बजारमा छन् ।
धार्चे क्षेत्रका लोकगीत, यस क्षेत्रका प्रवद्र्धनात्मक गीत गाएकी तथा मोडलिङसमेत गरेकी उनी राजनीति र समाजसेवा क्षेत्रमा प्रवेश गरेसंग सानदार विजय हाँसिल गरेकी छिन् । धार्चे गाउँपालिका गोरखाको दुर्गम भेगमा रहेको गाउँपालिका हो । दुर्गम गाउँमा जन्मेर लामो समय देश, विदेश देखे घुमेर अनुभव संगालेकी उनीसित गाउँपालिकाको विकास गर्ने ठूलो सपना छ ।
‘सबैभन्दा प्रमुख कुरा म हाम्रो गाउँपालिकाका महिलाहरुको हितमा काम गर्नेछु । बाल बिबाहको बिकराल अबस्था छ । त्यसलाई अन्त्य गर्ने मेरो लक्ष्य हुनेछ’, उनी भन्छिन्, ‘समान कामको समान ज्यालाको नीति निर्माणमा पहल गर्नेछु । गर्भवती तथा सुत्केरी महिलामैत्री काम गर्ने पनि मेरो प्राथमिकता हुनेछ ।’ साथै उनले विभिन्न सीपमुलक कार्यक्रम गरी महिलाहरुलाई स्वरोजगार बनाउन पहल गर्ने बताइन् । ‘सुरक्षित सुत्केरी कार्यक्रम अन्तर्गत घरमा सुत्केरी हुने दर घटाउनेछु’, उनी भन्छिन्, ‘गाउँका युवाहरु सबै विदेशिएर गाउँ युवा सुन्य भएको छ । युवाहरुलाई सीप सिकाएर स्वरोजगार हुन पहल गर्नेछु ।’
साथै उनले आफ्नो गाउँठाउँका कला, भाषा, संस्कार, संस्कृतिको संरक्षण, विकास, प्रचार प्रसार गर्न पनि पहल गर्ने बताइन् । ‘हाम्रो गाउँमा यति धेरै कला, संस्कृति छ कि, यसको प्रचार प्रसार गर्न सके धेरै राम्रो हुन्छ भन्ने मैले बुझेको छु’, उनी भन्छिन्, ‘बाटोघाटो, शिक्षा, स्वास्थ्य शिक्षाका क्षेत्रमा पनि धेरै काम गर्नुपर्ने छ ।’ सबैलाई समेटेर गाउँको सेवामा तल्लीन हुने उनले बताइन् ।
राजनीति तथा समाजसेवाको क्षेत्रमा लाग्दा आफूभित्र निहित कलाकारिता मर्न नदिन पनि उनले योजना बनाएकी छिन् । ‘मलाई चिनाएकै मेरो कलाकारिताले हो, त्यसैले म जुनसुकै चुनौति सामना गरेर पनि कलाकारिता मर्न दिन्न’, उनी भन्छिन्, ‘मेरो नशानशामा गीतसंगीत बगेको छ त्यसैले यसलाई मर्न त म दिँदैदिन्न । मेसोमेलो मिलाएर यसलाई विकास गर्ने मौका पनि चुकाउँदिन ।’




