| मङ्लबार, कार्तिक २४, २०८३

स्थानीय तह निर्वाचन २०७९ को दृश्य गोरखामा यस्तो देखियो


लामो पर्खाइपछि आएको स्थानीय तहको निर्वाचनको दिन शुक्रबार जिल्लाभर उत्साहपूर्वक निर्वाचन आरम्भ भयो । व्यवस्थित मतदानस्थल, तालिम प्राप्त निर्वाचन कर्मचारी र जितको आशा, अभिलाशाले ओतप्रोत मतदाताहरुको उत्साहले निर्वाचन कार्यक्रम अघि बढ्यो ।
पूर्व प्रधानमन्त्री तथा जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले स्वस्तिक छाप लगाएको मतपत्र सार्वजनिक गरेको बिषयले जिल्ला र देशभर चर्चा पायो । आफूले मतदान गरेको मतपत्र उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए । अन्ततः मतपत्रको गोपनीयतासम्बन्धी आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले उनलाई २४ घण्टे स्पष्टिकरण सोध्यो ।


सोही मतदानकेन्द्रमा कांग्रेसका प्रभावशाली नेता सुरेन्द्र पाण्डेले पनि मतदान गरे । सिरानचोक गाउँपालिका वडा नं. ८ को परोपकार आदर्श मावि मतदानकेन्द्रमा माओवादी केन्द्रका शीर्ष नेता नारायणकाजी श्रेष्ठले मतदान गरे । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले पनि आफ्नो गृहपालिका भीमसेनथापा गाउँपालिका ८ स्थित जागेश्वर मावि मतदानकेन्द्रमा मतदान गरे ।
ज्ञानमार्ग मावि मतदानकेन्द्रमा हवाइफायर :


समय बित्दै गएपछि क्रमशः मतदानकेन्द्रमा उत्पन्न खटपट, द्वन्द्व, लडभिड, हानाहान र झडपका खबरहरु क्रमशः आउन थाल्यो । बिगतदेखि माओवादीले बुथ कब्जा गर्ने गरेको भनेर चर्चित ज्ञानमार्ग र पातालदेवी मावि यसपटकको चुनावमा पनि अछुतो रहेन । फर्जी मतदान गर्ने प्रयास गरेको बिषयमा विवाद हुँदा ज्ञानमार्ग मावि केन्द्रमा कांग्रेस, माओवादी, एमाले बीच तनाब उत्पन्न भयो । मतदानकेन्द्रको सुरक्षार्थ प्रहरीले हवाइफायर गर्नुपर्ने स्थिति आयो ।


महेन्द्र मावि मतदानकेन्द्रमा नागरिकता खोसेपछि मतदान गर्नबाट बञ्चित :


यता गोरखा नगरपालिका १२ को महेन्द्र मावि मतदान केन्द्रमा वडाअध्यक्षको उम्मेद्वारकी पत्नीले मतदाताको परिचय खुल्ने एक मात्र कागजात नागरिकताको प्रमाणपत्र खोसेर लगेपछि गोरखा नगरपालिका १२ कुन्दुरटारका एक मतदाता मतदान गर्ने अधिकारबाट बञ्चित भए ।
वडा अध्यक्षका उम्मेद्वार रुपेश कुमालकी धर्मपत्नी पार्वती कुमालले प्यारालाइसिसबाट थलिएका स्थानीय कृष्णबहादुर कुमाल(बारपाकी)को नागरिकता कब्जा गरेपछि उनी मतदान गर्नबाट बञ्चित भएका हुन् ।


रुपेश कुमाल नेकपा माओवादी केन्द्रको तर्फबाट वडाअध्यक्षका उम्मेद्वार हुन् ।


पार्वतीले शुक्रबार बिहानै घरमै पुगेर नागरिकता मागेर लगेको पिडितका आफन्त वीरबहादुर कुमालले बताए ।


बालकी आधारभूत विद्यालय मतदानकेन्द्रमा ढुंगाहानाहान :


गण्डकी गाउँपालिका ६ को बालकी आधारभूत विद्यालयमा माओवादी र कांग्रेस कार्यकर्ता बीच झडप हुँदा मतदान रोकियो । माओवादी र कांग्रेस कार्यकर्ता बीच ढुंगाहाना हुँदा मतदान रोकिएको पालिकाका निर्वाचन अधिकृत बासुदेव रेग्मीले जानकारी दिए ।


तत्काल घटनास्थलमा थप सशस्त्र प्रहरी, नेपाल प्रहरी, सेनाको टोली पुग्यो । ज्ञानमार्ग केन्द्र सुचारु भए लगत्तै बालकीमा झडप भएको हो । त्यहाँ पनि सर्व पक्षीय बैठक गरी समझदारी कायम गरेपछि मतदान सुचारु भएको थियो ।


गण्डकी गाउँपालिकाको तीनवटा मतदान केन्द्र बिगतका चुनावदेखि नै माओवादी केन्द्रले कब्जा गर्ने गरेको थियो । ती केन्द्रहरुलाई जिल्ला सुरक्षा समितिले अति संवेदनशीलको सूचीमा राखेको छ ।


बालमन्दिर मावि र जनशक्ति आधारभूत केन्द्र महिलाद्वारा सञ्चालन :
दुखद खबरहरु मात्र आएनन् । निर्वाचनका सुखद समाचारहरु पनि आइरहेका थिए । गोरखा नगरपालिकाको वडा नं. ६ स्थित बालमन्दिर मावि र भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित जनशक्ति आधारभूत विद्यालयको मतदानकेन्द्र महिला जनशक्तिले मात्र सञ्चालन गरे । जिल्ला निर्वाचन कार्यालयले कर्मचारी व्यवस्थापन गर्दा त्यहाँ महिला मात्रै खटिएका हुन् ।


बालमन्दिर मावि मतदानकेन्द्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाकी वरिष्ठ कृषि अधिकृत पूर्ण ढुङ्गानाको नेतृत्वको टिमले निर्वाचन सम्पन्न गरायो । उनीसहित गोरखा नगरपालिकाकी अधिकृत जानुका कुँवर सहायक मतदान अधिकृतको रुपमा, जिल्ला अदालतकी सुष्मा अधिकारी र प्रशासनकी सिर्जना श्रेष्ठ सहायक कर्मचारीका रुपमा काम गरेका थिए । नेपाल प्रहरीकी सई सिर्जनाकुमारी सेनको नेतृत्वमा आठ जना सुरक्षाकर्र्मी पनि सो केन्द्रमा खटिएका थिए । सहयोगीमा अदालतकी कालिका ओली थिइन् ।


सो केन्द्रमा नौ सय ८० मतदाता थिए ।


त्यस्तै जनशक्ति आधारभूत विद्यालय केन्द्रमा मतदान अधिकृत सबिना लामिछानेको नेतृत्वमा सहायक मतदान अधिकृत पबित्रा लम्साल, सहायक कर्मचारी रामकुमारी श्रेष्ठ, सुस्मिता श्रेष्ठ र सहयोगी कर्मचारी अम्बिका श्रेष्ठ रहेका थिए । सो केन्द्रमा ६४९ मतदाता थिए ।


१२ नबज्दै चार मतदानकेन्द्रमा मतदान सम्पन्न :


सदरमुकामका बिभिन्न मतदान केन्द्रमा लफडा कायमै थिए । उता दुर्गम भेग चुमनुब्री गाउँपालिकाका विभिन्न केन्द्रहरुमा मतदान सम्पन्न भइसकेका थिए । एकसय भन्दा कम मतदाता रहेका उत्तरी गोरखाका ती मतदान केन्द्रहरुमा १२ नबज्दै मतदान सम्पन्न भएका हुन् ।
वडा नं. १ को साम्दो आधारभूत विद्यालय मतदानकेन्द्रमा ७४ मत खसेको बताइएको छ । त्यस्तै वडा नं. ४ को नाम्रुङगुम्बा मतदानकेन्द्रमा रहेका ८२ मतदाता मध्य ७५ मत खस्यो ।


त्यस्तै, १०५ जना मतदाता रहेको सोही वडाको हिमचुली प्रावि मतदानकेन्द्र छाकको पनि मतदान कार्य सम्पन्न भएको छ । त्यहाँ ३० महिला र २८ पुरुष गरी ५८ मत खसेको थियो । सोही वडाअन्तर्गत १८२ मतदाता रहेको वुद्ध आधारभूत मतदानकेन्द्रको पनि मतदान १२ बजेअघि नै सकिएको थियो । त्यहाँ जम्मा ५५ महिला र ६५ पुरुष गरी एकसय २० मत खसेको उनले बताए ।


निर्धारित समय भन्दा अघि नै मतदान कार्य सम्पन्न भए पनि औपचारिक घोषणा गर्न पाँच बजेसम्म कुर्नु परेको थियो ।

माइकोट मावि केन्द्रमा दुईघण्टा मतदान रोकियो :


तनाब र लफडाका खबर निरन्तर आउने शिलशिलामा बारपाक सुलिकोट गाउँपालिका ६ माईकोट मावि मतदान केन्द्रको अर्को तनावपूर्ण खबर आयो । त्यहाँ दिउसो दुईबजेदेखि धन्नै चारबजेसम्म मतदान रोकियो । ‘क’ मतदान केन्द्रमा खटिएका निर्वाचन कर्मचारीले आफ्नो मतदानकेन्द्रमा पुगेर मतदान गरेको बिषयमा विवाद हुँदा मतदान कार्य रोकिएको थियो । साथै सोही विवादमा एकजनाले म्यादी प्रहरीले लिने लठ्ठी खोसेर प्रतिस्पर्धीसित भिड्न खोजेपछि परिस्थिति थप उत्तेजित बनेको थियो ।


विवादका कारण सो केन्द्रमा रहेका दुवै स्थल रोकिएको थियो । तर सर्वपक्षीय बैठक बसी समस्या समाधान गरेर निर्धारित समयसीमाभित्रै निर्वाचन सम्पन्न गरेको थियो । जिल्ला निर्वाचन अधिकृतको कार्यालयले दुबै केन्द्रका मतदान अधिकृतलाई बिरामी भएको बाहना बनाएर निश्कासन गरेको हो । केन्द्र ‘क’ का इश्वर कुमाल र ‘ख’ का रामशरण नेपाली दुबै जना बिरामी भएको मुचुल्का बनाएर निर्वाचन अधिकृतको कार्यालय गएपछि मतदान सुरु भएको सहायक निर्वाचन अधिकृत आचार्यले बताए । सर्वदलिय बैठक बसेर सहमतीपछि मतदान सुचारु भएको उनले बताए । केन्द्र ‘क’ मा मृता थापा र ‘ख’ मा रसु थापा सहायक मतदान अधिकृत बनाइएका थिए ।


ताराखसे मावि मतदानकेन्द्रमा गोली चल्यो :


निर्वाचन कार्यक्रम सम्पन्न हुनै लाग्दा गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर २ गाविस भबन ताराखसे मतदान केन्द्रमा गोली चल्यो छ । करिब साँढे चार बजे, जतिबेला लाइनमा ७०, ८० जना बाँकी थिए, प्रहरीले चलाएको गोली पड्क्यो । गोली लागेर सोही केन्द्रमा खटिएकी सहायक कर्मचारी मनिषा थापा मगर घाईते भइन् । उनको तिघ्रामा चोटपटक लागेको थियो । उनलाई अपरान्ह नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरी थप उपचारका लागि काठमाडौँ पु¥यायो ।


मतदान केन्द्र जोगाउन हवाइफायर गर्न लाग्दा भूलबश गोली निर्वाचनकै कर्मचारीलाई लागेको जिल्ला प्रहरी प्रमुख केदार खनालले जानकारी दिए ।


आक्रोशित भीडले मतदानकेन्द्रभित्र प्रवेश गरी मतपेटिका फाल्ने प्रयास गरिरहेको थियो । त्यही बेला हवाइफायर गर्न एसएलआर लोड गर्न लाग्दा पड्केर उनलाई लागेको एसपी खनालको भनाइ छ । घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौँ लगियो । सो घटनापछि स्थगित भएको निर्वाचन कार्यक्रम साँझ अबेरसम्म पनि सुचारु हुन सकेन ।


रञ्चोकको मतपेटिका साँटेको आरोपमा हुँडीखोलामा आधारातसम्म मतपेटिका ढुवानी अवरुद्ध


रञ्चोक मतदानकेन्द्रको मतपेटिका बोकेर गइरहेको गाडी कांग्रेस कार्यकर्ताले हुँडीखोलामा अवरुद्ध गरे । मतपेटिका बोकेको गाडीबाट कांग्रेसको एजेण्ट झारेर सो गाडीमा अर्को मतपेटिका हालेपछि साँटिएको आशंका भएको कांग्रेस कार्यकर्ताले जानकारी दिए ।
कांग्रेसको एजेण्ट गाडीबाट किन झारिएको, बीच बाटोमा पुगेपछि सो गाडीको मटपेटिका झारेर अर्को मतपेटिका सो गाडीमा हालिएको आदि विषयमा उनीहरु सशंकित थिए । पछि थप प्रहरी, सशस्त्र र सेनाको टोली घटनास्थल पुगेपछि अबरोध हटेको थियो ।

यी र यस्तै घटनाहरुले मात्र स्थानीय निर्वाचन सम्पन्न भएन । धेरै सुखद पक्षहरु छन् । तिनको खोजी गर्नुपर्छ, स्थानीय निर्वाचनको दोस्रो श्रृङ्खला यस्तैयस्तै रह्यो ।

प्रतिक्रिया दिनुहोस्