| मङ्लबार, कार्तिक २४, २०८३

गठबन्धनको सर्त तोड्दै बाबुरामले गरे एमालेसित तालमेल

पाँच दलीय गठबन्धनका सुत्रधार डाक्टर बाबुराम भट्टराईले आफ्नु गृहपालिका पालुङ्टारमा सत्ता गठबन्धनको सर्त लत्याउँदै एमालेसित चुनावी तालमेल गरेका छन् । निर्वाचन आउनु तीनदिन अघि उनकै अगुवाइमा त्यहाँ एमालेसित गठबन्धन भएको हो ।

नेकपा एमाले र जसपा दुवै पार्टीको जिल्ला समितिले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी दुई पार्टी बीच मेयर, उपमेयर तथा वडाहरुमा तालमेल गरेको जानकारी गराएका हुन् । नेकपा एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङ र जसपा गोरखाका अध्यक्ष यानप्रसाद भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा मेयरमा जसपाका प्रेम गुरुङलाई एमालेले सघाउने र उपमेयरमा एमालेकी पार्वती पाठकलाई जसपाले सघाउने निर्णय भएको उल्लेख छ ।

त्यस्तै वडा नं. ४ र ५ मा एमालेले जसपालाई सघाउने र वडा नं. ६, ७ र १० मा एमालेलाई जसपाले सघाउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ । अन्य वडामा आपसी सहमतिमा अघि बढ्ने उल्लेख गरिएको छ ।

चुमनुब्रीमा माओवादी र जसपा गठबन्धन

त्यस्तै चुमनुब्री गाउँपालिकामा माओवादी र जनता समाजवादी पार्टी बीच चुनावी गठबन्धन गर्ने समझदारी भएको छ । माओवादीका गाउँपालिकाको अध्यक्ष पदका उम्मेद्वार निमा लामा र उपाध्यक्षकी उम्मेद्वार लक्ष्मी गुरुङलाई जसपाले समर्थन गर्ने र वडामा माओवादीले जसपालाई समर्थन गर्ने समझदारी भएको जसपाका पालिका अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।

अनौपचारिक रुपमा यसअघिदेखि नै छलफल भइरहे पनि औपचारिक रुपमा मंगलबार यस बिषयमा टुंगो लागेको उनले बताए । ‘वडा नं. ३ मा दुई सदस्यमा उहाँहरुले हामीलाई सहयोग गर्ने र वडा नं. ५ मा अध्यक्षसहित चार जना सदस्यमा हामीलाई उहाँहरुले समर्थन गर्ने गरी हामीले पालिकाको अध्यक्ष र उपाध्यक्षमा सहयोग गर्नेगरी समझदारी भएको हो’, कार्कीले भने । यसअघि जसपाबाट सो पालिकामा गणेश कार्कीले अध्यक्ष पदमा उम्मेद्वारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्