
गोरखाका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगे
उत्तरी गोरखाको दुर्गम चुमनुब्री गाउँपालिकाको मतदान केन्द्रहरुमा चारदिन बोकेर मतदान सामाग्री पु¥याइएको छ । दुर्गममा हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानीका लागि जिल्लाले आयोगलाई अनुरोध गरेपनि उपलब्ध नगराएका कारण बोकेर लैजानु परेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।
२१ वटा मतदान केन्द्र रहेको चुमनुब्री गाउँपालिकाको वडा नम्बर ३ बाहेकमा दुईदेखि चार दिन निर्वाचन सामग्री बोकाएर लगिएको गाउँपालिकाका सहायक निर्वाचन अधिकृत भिमसेन श्रेष्ठले बताए । ‘शनिवार सदरमुकामबाट हिड्यौँ, मंगलवार साँझसम्म सबै केन्द्रमा सामग्री पुगेको जानकारी आएको छ’ श्रेष्ठले भने ।
चुमनुब्री गाउँपालिकाको सबै भन्दा टाढा वडा नं १ सामागाउँ र साम्दोसम्म निर्वाचन सामग्री लैजानुपर्छ । साम्दो केन्द्र सदरमुकामबाट ५५ कोस टाढा छ । स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक सामाग्री, म्यादी प्रहरी, नेपाल प्रहरी, निर्वाचनमा खटिने कर्मचारीले आवश्यक सामग्री बोकेर लगेको उनले बताए ।
बैशाख २७ गतेसम्म सबै स्थानमा निर्वाचन सम्बन्धी सामाग्री पु¥याइसक्नुपर्ने हुँदा दुर्गममा छिटो पठाइएको निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर कोईरालाले बताए । बैशाख २७ र २८ गते मतदान स्थलको ब्यवस्थापन मिलाउनुपर्ने, २९ गते मतदान स्थलमा खटिएका मतदान अधिकृत सहितको टोलीले स्थानीयहरुलाई मतदाता शिक्षा दिने, परिचय पत्र बितरण गर्ने कार्यक्रम तय भएको छ । पहिले पटक फोटो सहितको मतदाता नामावलीमा नाम रहेकाहरु, ठाउँसारी वा संशोधन गरेकाहरुको र मतदाता परिचय पत्र हराएको निवेदन दिएकाको मात्रै परिचय पत्र मतदान केन्द्रमा छ । उनीहरुका लागि मतदान अघि बितरण गरिनेछ ।




