
आजसम्म सबै मतदानकेन्द्रमा निर्वाचन सामग्री सहित कर्मचारी पुग्नुपर्ने
स्थानीय तह निर्वाचनका लागि गोरखाका मतदान केन्द्रमा धमाधम मतपेटिका लगिँदैछ । निर्वाचन कार्यालयका अनुसार मंगलवार दिउँसोसम्म सबै मतदान केन्द्रमा मतपेटिका सहितका सामग्री लिएर निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मीको टिम पुगिसक्नु पर्नेछ ।
‘धार्चे र चुमनुब्रीको सबै मतदान केन्द्रका सामग्री सोमवारसम्म पुगिसक्यो’, जिल्ला निर्वाचन कार्यालयका नायब सुब्बा रविलाल सुवेदीले भने, ‘मंगलवार दिउँसो सबै केन्द्रमा पुगिसक्नु पर्नेछ ।’
मंगलवार मतदान केन्द्र पुग्ने र बुधवार, बिहिवार मतदाता परिचय पत्र बितरण, स्थानीय स्तरमा छलफल, घेराबार, मतदानको तयारीको काममा कर्मचारी खटिने सुवेदीले बताए । मंगलवार रातीदेखि मौन अवधी सुरु हुने भएकाले उक्त विषयमा सुचना जारी गर्नका लागि पनि मंगलवार संम्बन्धी मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी सहितको टोली पुगिसक्नुपर्ने निर्वाचन कार्यालयले जनाएको छ ।
पहिले पटक फोटो सहितको मतदाता नामावलीमा नाम अंकित भएकाहरु, ठाउँसारी वा संशोधन गरेकाहरुको र मतदाता परिचय पत्र हराएर निवेदन दिएकाको मात्रै परिचय पत्र मतदान केन्द्रमा छ । उनीहरुका लागि मतदानअघि बितरण गरिनेछ ।
‘अहिलेसम्म मतदाता परिचय पत्र बाहेकले मतदान गर्न पाईन्छ भन्ने जानकारी आएको छैन’ निर्वाचन कार्यालयका नायब सुब्बा रविलाल सुवेदीले भने ।




