
बिगत कार्यकालका एउटै वडाका तीनजना सदस्यहरु अहिले अध्यक्षका प्रतिस्पद्र्धी
गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर २ जनप्रतिनिधिबिहिन भएको छ । यस अघिका वडाअध्यक्ष, सदस्यहरु सबैले राजिनामा दिएर फेरि उम्मेदवार बनेपछि अहिले वडा जनप्रतिनिधिबिहिन भएको हो ।
वडा अध्यक्ष र दुई जना सदस्य अहिले वडा अध्यक्षका लागि प्रतिस्पर्धामा छन् । साविक वडाअध्यक्ष अचलबाबु थापा नेकपा एमालेबाट दोस्रो कार्यकालका लागि वडा अध्यक्षका उम्मेदवार छन् । यसअघि नेपाली कांग्रेसबाट वडा सदस्य भएका चेतबहादुर थापा मगर अहिले वडा अध्यक्षका उम्मेदवार छन् भने नेकपा माओवादी केन्द्रबाट सदस्यमा बिजयी सकुन थापा मगर पनि वडा अध्यक्षको उम्मेदवार छिन् । एउटै समितिमा रहेर पाँच वर्ष काम गरेका अध्यक्ष–सदस्य बीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
यी बाहेकका दुई जना सदस्यहरु कल्पना बयलकोटी र हस्तबहादुर थापा फेरी एमालेबाट सदस्य पदका उम्मेदवार छन् । वडाका पाँचै जनाले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएपछि अहिले वडा जनप्रतिनिधि बिहिन भएको वडा सचिव कृष्णप्रसाद अर्यालले बताए ।
बैशाख १४ गतेदेखि वडा कार्यालयमा जनप्रतिनिधि नरहेको अर्यालले बताए । ‘नागरिकताको सिफारिस दिन, प्रतिलिपिको सिफारिस गर्न जनप्रतिनिधि नहुँदा समस्या भएको छ’, उनले भने, ‘अब नयाँ जनप्रतिनिधि नआउँदासम्म हामीले कानुन भन्दा बाहिर गएर सिफारिस दिन सक्दैनौँ ।’ जनप्रतिनिधिले सिफारिस नदिँदासम्म सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाउँदैनन् । शैक्षिक प्रमाण पत्रमा नाम सच्याउन, विदेश जाने अन्य प्रयोजनको सिफारिसका लागि वडा अध्यक्ष अनिवार्य हुन्छ ।
गोरखाका २ वडा जनप्रतिनिधि बिहिन
गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर ७ पनि जनप्रतिनिधिबिहिन भएको छ । वडा अध्यक्षका उम्मेदवार नारायण श्रेष्ठ, सदस्यहरु जीवन कुमाल, रामप्रसाद पाण्डे, मालती तिवारी, मिना सार्की पाँचै जनाले राजिनामा दिएकाले वडा कार्यालय जनप्रतिनिधिबिहिन भएको हो । उनीहरु पुन अहिले माओवादी केन्द्रबाट उम्मेदवार छन् ।
त्यहाँपनि वडामा जनप्रतिनिधिले गर्नुपर्ने काम प्रभावित बनेको छ । जनप्रतिनिधि नभएको खण्डमा कसले सिफारिस गर्ने भन्ने बारे प्रष्ट कानुन नहुँदा कर्मचारीले काम गर्न सकेका छैनन् । अधिकांस वडामा अध्यक्षहरुले सदस्यलाई कार्यवाहक दिएर राजिनामा पेश गरेका छन् । सबै जनप्रतिनिधिले राजिनामा दिएको ठाउँमा सेवाग्राहीको काम रोकिएको छ । बैशाख ३० गते चुनाव भएपछि नयाँ जनप्रतिनिधिले सपथ लिएर काम सम्हाल्न कम्तीमा जेठ १० सम्म लाग्ने अनुमान कर्मचारीहरुको छ ।
‘कार्यपालिकाबाट वडा सचिवलाई काम गर्ने गरी जिम्मेवारी दिने निर्णय गर्न सकिन्थ्यो, तर त्यो पनि ब्यवाहारिक हुने देखिएन, कानुनमा पनि प्रष्ट छैन’ भीमसेन थापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले भने । निर्वाचनमा कर्मचारी खटिएको, वडा स्तरमा अहिले कामको चाप खासै नभएकाले धेरै समस्या नआउने उनले बताए । ‘वडा र पालिकाबाट हल हुने समस्या हामीले समाधान गर्छौँ’, उनले भने ।




