
गोरखा नगरपालिकाले बनायो ६६ वटा कानुन
गोरखा नगरपालिकाले गएको पाँच वर्षमा ६६ वटा कानुन बनाएको जनाएको छ । नगरपालिकाभित्र सहज रुपमा कार्य सम्पादन गर्न, जनताको सहज सेवाका लागि ऐन, नियम कानुन, कार्यविधि ६६ वटा तयार गरिएको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बताए ।
‘पहिलो पटक स्थानीय सरकारको रुपमा हामी आउँदा स्थानीय तहको एउटा पनि कानून् थिएन’, कार्यवाहक मेयर बिनाकुमारी श्रेष्ठले भनिन्, ‘काम गर्दै जाँदा ऐन, नियम, कार्यविधि आवश्यक प¥यो, हामीले बनाउँदै गएका छौँ ।’ कानुन निर्माणमा धेरै समय खर्च गर्नु परेको बताउँदै उनले अब नयाँ आउने जनप्रतिनिधिलाई बनेको कानुन कार्यान्वयन गर्ने हुँदा सहज हुने बताइन् । ‘केन्द्रले पठाएको कानुनअनुसार काम गर्न सुरु सुरुमा हामीलाई समस्या भयो’, उनले भनिन्, ‘अहिले कार्यान्वयन गर्न सक्ने र मिल्ने गरी कानुन बनेको छ ।’
बिहिवार सोच नेपालको समन्वय र गोरखा नगरपालिकाको आयोजनामा स्थानीय सरकारका नीति नियमलाई संस्थागत गर्न नीतिहरुको निर्माण र कार्यान्वयनको अवस्था तथा चुनौतीको विषयमा अभिमुुखिकरणका कार्यक्रम भएको थियो । नागरिक संघ संस्थाका प्रतिनिधि र नगरपालिका बीच भएको उक्त अन्तरक्रियामा सहभागीले बनेका कानुन कार्यान्वयमा जोड दिन सुझाव दिए । कानुनका भएका कुरा सबैले सहज रुपमा थाहा पाउने गरी प्रचार प्रसार गर्न, कर्मचारीले नागरिकलाई कानुनभित्रै रहेर सहज सेवा दिनुपर्नेमा नागरिक समाजका ब्यक्तिहरुले बताए ।
केही कानुनहरु बने पनि ब्यवहारिक रुपमा कार्यान्वयन गर्न समस्या भएको हुँदा नगरबासीले बनेका कानुन कार्यान्वयनमा साथ दिनुपर्ने प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बताए ।
कानुन बनेपछि न्यायिक समितिको काममा पनि सजिलो भएको कार्यबाहक मेयर बिनाकुमारी श्रेष्ठले बताइन् । गोरखा नगरपालिकामा पाँच वर्षको अवधिमा एकसय ८३ वटा मुद्धा न्यायिक समितिमा परेको छ । योमध्ये पाँचवटा अदालत पठाइएको र २६ वटा फैसला हुन बाँकी रहेको न्यायिक समितिले जनाएको छ ।




