
कांग्रेस गोरखाको सङ्कल्प पत्र सार्वजनिक : स्वास्थ्य, शिक्षा र कृषिमा जोड
नेपाली कांग्रेस गोरखाले आसन्न स्थानीय तहको निर्वाचन जितेमा विभिन्न काम गर्ने प्रतिवद्धता गर्दै सङ्कल्प पत्र सार्वजनिक गरेको छ । शुक्रवार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले पत्रकार सम्मेलन गरेर सङ्कल्प पत्र सार्वजनिक गरेका हुन् ।
‘हाम्रो पार्टीले स्थानीय तहको निर्वाचनमा बिजयी गरेको खण्डमा हामीले यो सङ्कल्प पत्र अनुसार काम गर्नेछौँ’, सभापति न्यौपाने भने, ‘स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधारका विषयलाई विशेष जोड दिएका छौँ ।’
पाँच वर्षको अवधिमा गर्न सकिने खालका काम मात्रै संकल्प पत्रमा समेटेको बताउँदै उनले सोही अनुसार स्थानीय तहमा बिजयी जनप्रतिनिधिले काम गर्ने दावी गरे । ‘गोरखा जिल्लाको हालको अवस्थालाई हेरेर सङ्कल्प पत्र तयार गरेका छौँ’, उनले भने, ‘यो सङ्कल्प पत्र सबै नागरिकलाई छुने, कुनै न कुनै रुपमा नागरिकलाई हेर्ने खालको छ ।’
‘नेपाली कांग्रेसको उपहार, भ्रष्टाचारमुक्त स्थानीय सरकार’, लाई कांग्रेसले प्राथमिकतामा राखेको जनाएको छ । चुनावका बेला घोषणा गर्नका लागि मात्र नभएर सङ्कल्प पत्रमा उल्लेख भएअनुसार, घोषण पत्रमा लेखे अनुसार जनप्रतिनिधिले काम गरे नगरेको समीक्षासमेत गरिने कांग्रेस जिल्ला सचिव किशोरजंग थापाले बताए । ‘बिजयी भएर सपथ खाएको दिनको एक वर्षपछि हरेक वर्ष जनप्रतिनिधिले आफुले गरेको काम जनतालाई जानकारी गराउने, समिक्षा गर्ने गर्नुपर्छ’ उनले भने ‘पारदर्शिता र सुशासनलाई कांग्रेसले प्राथमिकतामा राखेकाले यो सबैले अनिवार्य गर्नुपर्छ, हामी गराउँछौँ ।’
सङ्कल्प पत्रमा निशुल्क उपचार, स्वास्थ्य बिमा प्रभावकारी बनाउने, अनिवार्य शिक्षा, प्रविधिमैत्री शिक्षा, विद्युत र इन्टरनेटको बिस्तार, छात्रामैत्री शौचालय निर्माण लगायतका विषय उल्लेख छन् । कृषि पशुपालन, ब्यवशायिक खेती, कृषि उपजको खरिद बिक्री केन्द्र, किसानलाई सहुलियतमा मल, उत्पादनका आधारमा पकेट क्षेत्र निर्धारण गर्ने विषयलाई कांग्रेसले घोषणा पत्रमा उल्लेख गरेको छ ।
पर्यटन सूचना केन्द्र संचालन, बूढीगण्डकी आयोजना क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्ने, गोरखा पालुङ्टार र मनकामनालाई पर्यटकीय नगरीको रुपमा विकास गर्ने, गोरखा सदरमुकामलाई ऐतिहासिक पर्यटकीय मूख्य गन्तब्य बनाउने योजना पनि संकल्प पत्रमा रहेको जिल्ला सचिव थापाले बताए ।
भेदभाव रहित समाज निर्माण, गाउँगाउँमा वैंक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, वालवालिका, जेष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिलाको लागि विशेष सहायता, खानेपानी, संचार, खेलकुद, वन वातावरण, खनिज, मानव अधिकार, सुशासन र पारदर्शिताको विषयलाई पनि संकल्प पत्रमा कांग्रेस गोरखाले समेटेको छ ।
गठबन्धनका दल बीच चुनावी तालमेल नटुङ्गिदा सङकल्प पत्र ढिलो आएको कांग्रेस सभापति न्यौपानेले बताए । ‘पार्टीको तल्लो तहसम्मका संरचना प्रयोग गरेर जनताको घरघरमा चुनाव अघि नै यो पु¥याउनेछौँ’, उनले भने । संकल्प पत्र कार्यान्वयन गर्न सकिने गरी मात्रै ल्याएको कांग्रेसले जनाएको छ ।




