| मङ्लबार, कार्तिक २४, २०८३

कांग्रेस धार्चे अध्यक्ष उम्मेदवारको घोषणा पत्र : पुर्वाधार विकास र उद्यमशीलतालाई प्राथमिकता

नेपाली कांग्रेस धार्चे गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार सन्तोष गुरुङले धार्चेको विकास र समृद्धिका लागि पुर्वाधार विकास, सुशासन, रोजगारी र उद्यमशीलता मुख्य प्राथमिकतामा राखेका छन् ।

धार्चेलाई नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन पर्यटकीय स्थलहरुको पहिचान गर्दै आवश्यक पूर्वाधार निर्माण गर्ने घोषणापत्रमा उल्लेख छ । पाँच वर्ष धार्चे गाउँपालिकाको नेतृत्व गरेर पुन : अर्को कार्याकालका लागि नेपाली कांग्रेसबाट अध्यक्ष पदमा उम्मेदवारी बनेका गुरुङले यसअघिको समयमा पूरा गर्न बाँकी रहेका काम अव पूरा गर्ने योजना रहेको बताए ।

सडक, स्वास्थ्य, शिक्षा र उद्यमी गाउँ बनाउने योजना अघि सारेको बताउँदै अध्यक्षका उम्मेदवार गुरुङले संघीयतालाई जोगाउदै सुशासन, भ्रष्टचार न्यूनीकरण गर्दै सक्षम, समृद्ध गाउँपालिका निर्माणमा जोड दिने बताए ।

यसअघिको पाँच वर्षको अवधिमा भौगोलिक विकटता, कोरोना महामारीको प्रभाव र स्थानीय तहमा धेरै कानुन निर्माणको चरण पार गर्नुपर्दा जनताको चाहना अनुसार सबै आवश्यकता पूरा गर्न नसकिएकाले अवको पाँच वर्षका लागि अध्यक्ष भएको खण्डमा बाँकी काममा ध्यान दिने उनले बताए ।

धार्चे गाउँपालिकाको विकासका लागि सडक, स्वास्थ्य, शिक्षा नै मुख्य प्राथमिकता रहने गुरुङको घोषण पत्रमा उल्लेख गरिएको छ । ‘गाउँपालिका स्तरीय यातायात गुरुयोजना बनाई अहिलेसम्म निर्माण सम्पन्न भएका सडकहरुको स्तरउन्नति गर्ने र गाउँपालिका केन्द्रदेखि वडा कार्यालयसम्म जोडिएका कच्ची सडकहरुलाई स्तरउन्नति तथा ग्राभेल गराई १२ महिना यातायात सञ्चालन गराइने’ घोषण पत्रमा भनिएको छ ।

उहिया गाउँदेखि दिलिङ खर्कसम्म सडक सञ्जाल पु¥याई प्याराग्लाइडिङ स्पोर्टको रुपमा निर्माण गर्ने, खोर्ला– लाप्राक जाने पर्यटक पदमार्ग, गणेश कुण्ड र गणेश हिमाल आधार शिविर जाने पदमार्ग निर्माण, बूढीगण्डकीमा ¥याफटिङ, रुन्चेत खोला क्यानोनिङ स्पोर्टको पुर्वाधार विकास गर्ने योजना गुरुङले अघि सारिएको छ ।

त्यस्तै, ‘जल, जमिन, जंगल जडीबुटी र जलाधार धार्चेवासीको समृद्धिको आधार’ भन्ने नारालाई साकार पार्न धार्चेको भूगोललाई तीन भागमा विभाजन गरी बाली तथा वनस्पतीहरुको नक्शांकन गर्न अध्ययन गरी माटो हावापानी अनुसार उत्पादन हुने बोट विरुवा तथा व्यवसायिक खेती प्रणालीमा गई धार्चेवासीको आर्थिक समृद्धि गराइने घोषणा पत्रमा भनिएको छ ।
पर्यटकीय गन्तव्य पहिचान गरी आवश्यक पुर्वाधार निर्माण जोड दिने, धार्चेको पर्यटन प्रवद्र्धनका लागि सहसीक खेलहरु जस्तैः क्यानोनिङ, रक क्लाइम्बिङ, प्याराग्लाडिङ, जीप लाइन र स्कीको प्रर्वद्धनका लागि धार्चे पर्यटन महोत्सव आयोजना गर्ने घोषणापत्रमा उल्लेख गरेका छन् ।

धार्चेको सामुदायिक शिक्षालाई गुणस्तरीय बनाउदै सामुदायिक आवशिय विद्यालय स्थापना गरिने, मेगा विद्यालयलाई निरन्तरता दिई प्राविधिक धारमा परिणत गर्ने, स्थानीय पाठ्यक्रम लागु गर्ने, एक वडा एक पुस्तकालय, एक टोल एक शिशु विकास केन्द्र निर्माण गरी कार्यान्वय गरिने अध्यक्ष गुरुङले सार्वजनिक गरेको घोषण पत्रमा भनिएको छ ।

गाउँपालिकाका सबै वडा कार्यालय, विद्यालय लगायतका सबै सरकारी कार्यालयहरुमा सदाबहार फोन तथा इन्टरनेटको व्यवस्था गरी डिजिटल धार्चे निर्माण कार्यलाई संस्थागत गर्ने, कागजरहित गाउँपालिका बनाउने कार्यलाई विशेष प्राथमिकता दिइने समेत सो पत्रमा उल्लेख छ ।

नगदे वाली आलु, भटमास, शिलाम, सिमी लगायतका स्थानीय उत्पादनलाई धार्चेको ब्राण्ड बनाएर बजार व्यवस्थापनमा गाउँपालिका सहयोग गर्ने, कृषि सडक निर्माण कार्यमा प्राथमिभकता दिइने योजना गुरुङले अघि सारेका छन् ।

युवा लक्षित चुनौती कोषलाई बजेट थप गरि निरन्तरता दिइने र धार्चेमा रहेका बेरोजगार युवाहरुलाई रोजगार तथा आत्मनिर्भर बनाउन युवा उद्यमशिलतालाई प्राथमिकता दिनुका साथै नयाँ उद्योग स्थापनाका लागि अनुदानको व्यवस्था गरी ‘एक परिवार एक रोजगार’ भन्ने नारालाई कार्यान्वयन गर्न विशेष प्राथमिकता दिइने उनको घोषणा पत्रमा भनिएको छ ।

प्रत्येक धार्चे वासीको स्वास्थ्य विमा गर्ने कार्यक्रमलाई विशेष महत्व दिइ कार्यान्वयन ल्याइने, संकटासन्न घरपरिवारको लागि निशुल्क खानेपानी व्यवस्था गर्ने, प्रत्येक वडामा जेष्ठ नागरिकका लागि जेष्ठ नागरिक आश्रम निर्माण गरि संचालनमा ल्याइने योजना उलने अघि सारेका छन् । एकल महिला तथा पुरुष, अपाङता भएका व्यक्तिहरुको संरक्षण, जिविको पार्जन तथा रोजगारीको लागि अनुदान कोष खडा गरिने जनाएको छ ।

धार्चेमा बाल विवाहको पुर्णरुपमा अन्त्य गर्दै बालबालिका मैत्री गाउँपालिका बनाइने घोषणा पत्रमा उल्लेख छ । लेक खर्कहरुमा स्थायी गोठ वा पोटर सेन्टल निर्माण गरिनुका साथै गोठालाहरुलाई सहजताका लागि टेण्ड तथा सोलार बत्ती वितरण जनाएको छ ।
युवा तथा खेलकुदको विकासका लागि सबै वडामा व्यवस्थित कभर्ड हल निर्माण गर्ने, हुल्चुकलाई गाउँपालिका स्तरीय रङशाला निर्माण गराइने र माम्चेतमा हाई अल्टीच्युट स्पोर्ट निर्माण गराइने योजना समेत गुरुङले अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्