| मङ्लबार, कार्तिक २४, २०८३

सबै महिलाले मात्र सम्हाल्नेछन् बालमन्दिर मतदान केन्द्र

गोरखा नगरपालिका ६ को बालमन्दिर माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रलाई नमुना मतदान केन्द्रको रुपमा लिइएको छ । बैशाख ३० गतेको स्थानीय निर्वाचनमा सो केन्द्रमा सबै महिला कर्मचारी खटिएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजनाकी प्रमुख पूर्ण ढुङ्गानालाई मतदान अधिकृत र गोरखा नगरपालिकाकी अधिकृत जानुका कुँवरलाई सहायक मतदान अधिकृतको रुपमा त्यहाँ खटाइएको छ । जिल्ला अदालतका नायब सुब्बा सुष्मा अधिकारी, जिल्ला प्रशासन कार्यालयका सिर्जना श्रेष्ठ र जिल्ला अदालतका कार्यालय सहयोगी कालिका वली अदालतमा खटिएका छन् ।

अधिकृतदेखि सबै महिला खटिएको गोरखाका तीन सय ११ मध्ये यो एउटा मात्रै केन्द्र हो । नमुना केन्द्रको रुपमा त्यहाँ महिला मात्र खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामचन्द्र केसीले बताए ।

उक्त केन्द्रमा सुरक्षाकर्मी पनि महिलाहरु नै खटिनेछन् । प्रहरी, म्यादी प्रहरी पनि उक्त केन्द्रमा नमुनाको रुपमा महिला खटाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए ।
उक्त केन्द्रमा नौ सय ८० जना मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्