| मङ्लबार, कार्तिक २४, २०८३

मेयरका उम्मेद्वार पन्तको घोषणापत्र : गोरखालाई सम्पदा सहर र युवालाई रोजगारी प्राथमिकतामा

नेपाली कांग्रेसबाट गोरखा नगरपालिकाको मेयर पदका उम्मेदवार राजनराज पन्तले गोरखालाई सम्पदा सहरको रुपमा विकास गर्ने योजना अघि सारेका छन् । गोरखालाई देशकै नमूना सांस्कृतिक सहर बनाउने घोषणा पत्रमा उल्लेख गरेका छन् । पाँचवर्ष गोरखा नगरपालिकाको नेतृत्व गरेर पुनः अर्को कार्याकालका लागि नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार बनेका पन्तले यसअघिको समयमा पूरा गर्न बाँकी रहेका काम अब पूरा गर्ने योजना रहेको बताए ।

गत ५ वर्षको अवधिमा कोरोना महामारीको प्रभावका कारण र स्थानीय तहमा धेरै कानुन निर्माणको चरण पार गर्नुपर्दा जनताको चाहना अनुसार सबै आवश्यकता पूरा गर्न नसकिएकाले अबको पाँच वर्ष मेयर भएको खण्डमा बाँकी काममा ध्यान दिने उनले बताए ।

‘गोरखालाई सम्पदा सहरको रुपमा बिकास गर्ने, युवालाई अधिकतम रोजगारी सिजर्ना गराउने, एकिकृत बस्ती बिकास गरी पूर्वाधार निर्माण गर्ने, गोरखाको ऐतिहासिकता र बिर गोर्खाली झल्कने गरी ‘पर्यटन गन्तब्य स्थल’ को बिकास गर्ने योजना छ’ मेयर पन्तले सार्वजनिक गरेका घोषणा पत्रमा भनिएको छ ।

सहुलियत ऋणको ब्यवस्था गर्ने, फोहोरमैलाको दिर्घकालिन समस्या समाधान गर्ने, नगरलाई खाद्यान्न आपूर्तिमा आत्मनिर्भर बनाउने, एक वडा एक उत्पादन कार्यक्रम प्रभावकारी रुपमा अघि बढाउने योजना अघि सारिएको छ ।

पाँचवर्षभित्र नगरका सबै वडालाई ब्यवस्थित सडकले जोड्ने, घरघरमा विशेषज्ञ डाक्टरको सेवा पु¥याउने, गोरखा नगर क्षेत्रमा हरित चक्रपथ निर्माण गर्ने, आर्थिक अवस्था कमजोर भएका, बिपन्न र पछाडि पारिएका वर्गलाई स्वास्थ्य वीमामार्फत वार्षिक दुईलाख बरावरको निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने योजना मेयरका उम्मेदवार राजनराज पन्तले अघि सारेका छन् ।

कृषि, पशुपालन, उत्पादन, पूर्वाधार निर्माण, रोजगारी, स्वास्थ्य सुरक्षा, खेलक्षेत्र, दलित सीमान्तकृत वर्गको उत्थान, गोरखाको समग्र बिकास समेटेर पन्तले ४४ बुँदे घोषणा पत्र जारी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्