
गोरखामा १९ औँ सवालाख रोट महोत्सव हुने
गोरखामा जेठ २ गतेदेखि १२ गतेसम्म सवालाख रोट महोत्सव हुने भएको छ । गोरखनाथ गुफामा सिद्धाश्रम शक्ति केन्द्रले १९ औँ रोट महोत्सव गर्न लागेको केन्द्रका केन्द्रिय अध्यक्ष रामजी अर्यालले मंगलवार गोरखामा आयोजित पत्रकार सम्मेलमा जानकारी गराए ।
राजा पृथ्वी नारायण शाहका गुरु गोरखनाथ प्रकट भएको दिनको रुपमा हरेक वर्ष सिद्धाश्रम शक्ति केन्द्रले बैशाख पूर्णीमादेखि ११ दिन सम्म रोट महोत्सव गरेर रोट अपर्ण गर्दै आएको छ । गोरखा दरवारमा चल्ने रोट महोत्सव बिगत दुई वर्ष कोरोनाका कारण खासै उल्लासमय हुन सकेन । दुई वर्ष सम्म नित्य पुजा अन्र्तगत रोट चढाइएको थियो । अहिले भने कोरोनाको त्रास कम भएकाले भक्तजनको उल्लेख्य उपस्थिती रहने केन्द्रका अध्यक्ष अर्यालले बताए ।
१७ औँ र १८ औँ रोट महोत्सवमा भक्तजनले रोट चढाउन पाएनन । कोभिडका बेला गोरखाका स्थानीयको सहयोगमा रोट महोत्सव सफल भएको थियो । ‘अब पनि रोट महोत्सव सफल बनाउन हामीलाई सबैको साथ सहयोग चाहिएको छ’ अध्यक्ष अर्यालले भने । यो पटक २० देखि २५ हजार भक्तजन रोट महोत्सवमा सहभागी हुने अपेक्षा आयोजकको छ । महोत्सव गर्न लाग्ने खर्च हरेक वर्ष शक्ति केन्द्र, साधक, साधिक, भक्तजन र स्थानीय समाजसेवी, संघ संस्थाबाट स्वेच्छिक रुपमा जुटाईने केन्द्रले जनाएको छ ।
गोरखनाथ र गोरखकाली मन्दिर परिसरमा भजन, कृतन, पुजापाठ गरेर सयौँ भक्तजनको उपस्थितीमा रोट महोत्सव हुने सिद्धाश्रम शक्ति केन्द्र सम्पर्क कार्यालय गोरखाका संयोजक किशोरकुमार अकेलाले बताए ।
रोट महोत्सवले गोरखाको धार्मीक पर्यटनको बिकासमा पनि मद्धत पुग्ने जेष्ठ नागरिक संघका अध्यक्ष मोहनलाल श्रेष्टले बताए । उनले जेष्ठ नागरिक जिल्ला संघ गोरखाबाट रोट महोत्सवका लागि २५ हजार सहयोग गर्ने घोषणा पनि गरेका छन् । गोरखनाथ मन्दिरका मुख्य पुजारी प्रदिपनाथ योगीले रोट महोत्सव गोरखाको उत्सव भएको बताउँदै भने ‘यसले मानिसमा आध्यात्मिक चिन्तको बिकास समेत गराएको छ ।’
रोट महोत्सवमा आउने भक्तजनलाई सिद्धाश्रम शक्ति केन्द्रले खान बस्न निशुल्क ब्यवस्था समेत गरेको छ । देशका बिभिन्न ठाउँबाट भक्तजनहरु गोरखा आउने अपेक्षा गरिएको केन्द्रकी साधिका विन्देश्वरी बरालले बताईन ।
गोरखनाथलाई सबैभन्दा बढि मनपर्ने भएकाले रोट चढाएर खुसी बनाउन सकेमा कुनै संकट आई नपर्ने धार्मीक मान्यता छ । पहिलो दिन जेठ २ गते बाजागाजा सहित गोरखा बजारबाट गोरखनाथ मन्दिर सम्म रथयात्रा गरिनेछ । रोट महोत्सवको सबै दिन नियमित पुजाको साथै गोरखा दरवार परिसरमा भजन कृतनको कार्यक्रम पनि संचालन गरिने शक्ति केन्द्रको सम्पर्क कार्यालय गोरखाका नबिन श्रेष्ठले बताए ।
गहुँ, जौ र धेरैजसो चामलको पिठो रोट बनाउन प्रयोग गरिन्छ । बिभिन्न ५२ थरीका शक्तिबर्दका मसला मिसाएर रोट बनाईन्छ । रोटमा जाईफल, काजु, ल्वाङ, सुकुमेल, दाख, चिनी, खुदो, नरिबल जस्ता किसमिस मिसाईन्छ । नाथहरु शुद्ध भई पिठोमा किसमिस मिसाएर रोटलाई स–सना गोलीबनाउँदै घ्यू मापोल्ने गर्छन ।




