
दुर्गममा बर्थिङ सेण्टर सञ्चालनका लागि सामग्री हस्तान्तरण
किमोलुङ फाउण्डेशन नेपालले छेकम्पारमा बर्थिङ सेण्टर सञ्चालनका लागि सहयोगी सामग्री हस्तान्तरण गरेको छ । तिब्बतसँग सीमा जोडिएको सो गाउँको स्वास्थ्य चौकीमा बर्थिङ सेण्टर सञ्चालन गर्न आवश्यक पर्ने डेलिभरी बेड, सुचन मेसिन, इन्कुबेटर, ब्लडप्रेशर नाप्ने सेटलगायतका छ प्रकारका सामग्री हस्तान्तरण गरिएको फाउण्डेशनका अध्यक्ष वाङचुक राप्तेन लामाले जानकारी दिए ।
सो सामग्री अध्यक्ष लामाले चुमनुब्री गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रेम गुरुङ, वडाअध्यक्ष पासाङ फुञ्जो लामालाई हस्तान्तरण गरेका हुन् ।
यसअघि छेकम्पारमा बर्थिङ सेण्टर नहुँदा घरमै सुत्केरी गराउने गरिएको थियो । जटिल अबस्थाका सुत्केरी गराउनु पर्ने हेलिकोप्टर चार्टर गरी काठमाडौँ लानु पर्ने बाध्यता थियो ।
लार गाउँको ग्रामीण स्वास्थ्य इकाइमा रहेको बर्थिङ सेण्टर विभिन्न समस्याका कारण बन्द भएको थियो । ‘दुर्गम ठाउँमा गर्भवती महिलाको स्वास्थ्य जाँच र स्वास्थ्य चौकीमा सुत्केरी गराउने सुविधा प्रदान गर्न सामग्री हस्तान्तरण गरिएको हो’, लामाले भने ।
क्याप्सन ः छेकम्पार स्वास्थ्य चौकीमा बर्थिङ सेण्टर स्थापना गर्न सामग्री हस्तान्तरण गर्दै किमोलुङ फाउण्डेशनका अध्यक्ष लामा ।




