| मङ्लबार, कार्तिक २४, २०८३

दुर्गमबासीलाई चुनाव, हर्ष न बिस्मात !

शिव उप्रेती

चुमनुब्री गाउँपालिका २ ल्ही गाउँका ४८ बर्षीय ल्हाक्पा वाङ्दीलाई चुनाव के हो, थाहा छैन ।
सोध्छन्, ‘चुनाव … ? के हो यो भनेको … ?’, अलमलमा परेर भुइँतिर नजर डुलाउँदै भन्छन्, ‘खै …?’

चुनावमात्र होइन, उनलाई चुनावसम्बन्धी अरु पदावलीहरु पनि थाहा छैन । भोट भनेको पनि थाहा छैन । त्यो माग्न पनि कोही आएका छैनन् । ‘अहँ, कोही पनि आएको छैन माग्न । हामीसित किन माग्ने ? हामीसित कहाँ छ र भोट ?’, छक्क पर्दै उनी प्रतिप्रश्न गर्छन् ।

तिब्बती सीमानामा रहेका ती गाउँबस्तीबाट गाउँपालिकाको केन्द्र ‘धोदाङ’ पुग्न दुईदिन पैदल हिड्नुपर्छ । सदरमुकाम पुग्न चारदेखि पाँच दिन हिँड्नुपर्छ । घरायसी काम गरेर यत्तिका उमेर गुजारेका उनी र उनीजस्तै सबै गाउँलेलाई प्रशासनिक काम पनि खासै पर्दैन । त्यसैले जति दिन लागेपनि त्यसको चिन्ता पनि छैन ।

वडा नं. ३ को ‘धोदाङ’तिर अलिअलि चुनावी रौनक छ । पालिकाभरमा सबैभन्दा धेरै मतदाता संख्या पनि त्यहीँ छ, त्यसैले गाउँपालिकाको अध्यक्ष पदमा उम्मेद्वार धनबहादुर गुरुङ, निमा लामा, गणेश कार्की, सुकबहादुर गुरुङहरु त्यतै भोट माग्न घरदैलो गर्दैछन् ।

त्यहाँका वडाअध्यक्ष रामकुमार गुरुङले पुनः उम्मेद्वारी दिएका छन् । वडा नं. १ का वडाअध्यक्ष वीरबहादुर लामा, वडा नं. २ का वडाअध्यक्ष पेम्बारेता लामा, वडा नं. ४ का वडाअध्यक्ष पेमाडुण्डुप लामा, वडा नं. ५ का वडाअध्यक्ष सोनामग्याल्जेन लामा, वडा नं. ६ का वडाअध्यक्ष लोप्साङ फुञ्जो लामा र वडा नं. ७ का वडाअध्यक्ष पासाङफुञ्जो लामा कसैले पनि पुनः उम्मेद्वारी मनोनयन गर्न चासो देखाएनन् ।
माओवादी कांग्रेस गठबन्धन गरेर वडा नं. ६ मा वडाअध्यक्ष ल्हाक्पा छिरिङ (सरोज) लामाको टिम निर्विरोध गराएका छन् । अन्य वडाहरुमा चुनावी चर्चासम्म छैन ।

सो भेगका वडाहरुमा दलित समुदायको बसोबास नभएकाले उनीहरुको पद नै ‘खालि’ भएको छ । प्रत्येक वडा समितिमा एक जना दलित महिला सदस्यको ब्यवस्था गरिएको छ । तर उम्मेद्वारी नपरेकाले पाँचवटा वडामा चार सदस्यीय वडा समिति बन्ने भएको छ । ‘वडा नं. २ र ३ मा मात्र दलित महिलाको उम्मेद्वारी परेको छ’, निर्वाचन अधिकृत नानीबाबु पोखरेल भन्छन्, ‘अरु पाँचवटा वडाबाट दलित महिलाको पदमा उम्मेद्वारी नै परेको छैन ।’ वडा नं. १, वडा नं. ४, वडा नं. ५, वडा नं. ६ र वडा नं. ७ को दलित महिला सिट खालि रहेको उनले बताए ।

वडा नं. २ बाट ल्हाक्पा डिकी कामीको मात्र उम्मेद्वारी परेको छ । एकल उम्मेद्वारी परेकाले उनी निर्विरोध निर्वाचित भइसकेकी छिन् । वडा नं. ३ मा कांग्रेसबाट निरमाया बिक, नेकपा माओवादी केन्द्रबाट फुतानी कमिनी र जसपाबाट निमा कामीको उम्मेद्वारी परेको उनले बताए ।
दुर्गममा न उम्मेद्वार बन्नेलाई तीब्र चासो, न भोट माग्ने दौडधुप, न मतदातालाई उत्साह । वडा अध्यक्ष पदसम्मका लागि अलिअलि

प्रतिस्पर्धा हुन्छ, तर सदस्य पदमा उम्मेद्वार खोज्न समेत हम्मेहम्मे हुन्छ । त्यसैले यहाँका विभिन्न वडाका आठ जना सदस्य पद निर्विरोध निर्वाचित भइसकेका छन् । ‘एउटा पार्टीबाट मनोनयन दर्ता गर्न भनेर घरबाट तारतम्य मिलाएर ल्याएको व्यक्ति उम्मेद्वार मनोनयन दर्ता गर्ने बेलासम्म अर्को पार्टीले खोसिदिन्छ’, वडा नं. ३ का चन्द्र गुरुङ भन्छन् ।

वडा नं. २ हिनाङका ७० बर्षका छिरिङ नुर्बु लामा भन्छन्, ‘हामी मानेघुम्ने मान्छेलाई चुनाब के काम ? हाम्रो पार्टी पनि छैन । हामी माने घुम्ने मान्छेको कहाँको पार्टी हुन्छ ? यो त ठिटाहरुको काम हो ।’ चुनाव, जनप्रतिनिधि, राजनीति भीरपाखामा काम गर्नेका लागि नभएको उनको अभिव्यक्ति छ ।

चुनावअघि म राम्रो काम गर्छु भनेर आउने कसैले पनि अहिलेसम्म राम्रो काम नगरेको अर्की सोनाम ल्हामोको भनाइ छ । ‘एउटा आउँछ, म राम्रो गर्छ भन्छ, अर्को एउटा मान्छे आउँछ, हामी यसो गर्छ, उसो गर्छ भन्छ । जित्छ अनि हामीलाई माटो हानेर जान्छ । बुझेन ?’, उनले अझै प्रष्ट्याउँदै भने, ‘जनता सबैलाई राम्रो गर्नुपर्छ नि । जितेर गएपछि आफैलाई मात्र राम्रो गर्छ, हामीलाई राम्रो गर्दैन । पाँच बर्षअघि त भोट हाल्न गयौँ तर अब जाँदैनौँ । छोड्दे, सबै त्यस्तै हो ।’

गाउँमा शिक्षा, स्वास्थ्य, मोटरबाटो त परको कुरा, हिँड्ने सुरक्षित बाटोसमेत नभएको हिमाली भेगका बासिन्दाको गुनासो छ । सडक सञ्जालले नछोएका ती गाउँबस्तीमा खच्चडले खाद्यान्न लगायतका सामग्री ढुवानी गरेर गुजारा चलाउनु पर्ने बाध्यता छ । हरेक बर्ष बाढी पहिरोले गाउँबस्ती लैजान्छ । बाटो, विजुली, संचारका उपकरणमा क्षति पु¥याएर सदरमुकामलगायतका तल्लो भेगसित सम्बन्ध, सम्पर्क बिच्छेद गराउँछ । असारदेखि असोजसम्मका बर्खाका चार महिना खाद्यान्न संकट हुने गर्छ ।

चुनाबमा भोट दिएर जिताएका गाउँदेखि केन्द्रसम्मका कुनै पनि नेताले आफूहरुको समस्या समाधान नगरिदिएको त्यस भेगका बासिन्दाको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्