
गोरखा नगरपालिकाको तालमेलको बिषय अझै अन्यौल
स्थानीय स्तरको समझदारी र केन्द्र तहको हस्ताक्षेप बीच तालमेल नमिल्दा गोरखा नगरपालिकाको चुनावी तालमेल अन्यौलमा परेको छ । जसपाले नेपाली कांग्रेस वा माओवादी केन्द्रमध्य कुन दललाई सघाउने टुंगो लगाउन नसक्दा चुनाव प्रचार–प्रसार अभियान पनि प्रभावित भएको छ ।
‘उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने बिहान माओवादी केन्द्रको मेयर र जसपाको उपमेयर उठाउने भनेर दोहोरो लिखित सहमति नै भएको थियो । त्यही निर्णय अनुसार हाम्रो मेयरको उम्मेद्वारले र माओवादीको उपमेयरको उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिनु भयो । तर आज(सोमबार) पार्टीको केन्द्रीय कार्यालयबाट कांग्रेससित तालमेल गर्नू भनेर परिपत्र आएको छ’, जसपाबाट उपमेयरका उम्मेद्वार नारायण खत्रीले भने, ‘दिनदिनै फरक फरक निर्णय हुँदा अप्ठ्यारो भयो । अब म भोट माग्न निस्कन्छु । जुन पार्टीले मलाई सघाउँछ, म पनि त्यही पार्टीलाई सघाउँछु ।’
पालुङ्टार नगरपालिकामा जसपाका मेयरका उम्मेद्वारलाई कांग्रेसले सघाउने र उपमेयमा कांग्रेसका उम्मेद्वारलाई जसपाले सघाउने केन्द्रीय सहमति भएको थियो । सोहीअनुसार कांग्रेसका मेयरका उम्मेद्वार दीपक कँडेललाई केन्द्रीय कार्यालयले ‘व्याक’ गराइसकेको छ ।
‘पालुङ्टार नगरपालिकामा हाम्रो पार्टीले केन्द्रीय निर्देशनको कार्यान्वयन गरेका छौँ तर यहाँ कार्यान्वयन गर्न जसपाले आनाकानी गरिरहेको छ’, कांग्रेसका गोरखा नगरसभापति चन्दनबाबु खत्रीले भने, ‘हेरौँ, हामी उहाँहरुको निर्णयको प्रतिक्षामा छौँ ।’




