| मङ्लबार, कार्तिक २४, २०८३

सबै पक्षले निर्वाचन आचारसंहिता पालना गर्नुपर्नेमा जोड

स्थानीय निर्वाचन २०७९ नजिकिँदै गर्दा सबै पक्षले निर्वाचन आयोगले तोकेको निर्वाचन आचारसंहिता पालना गर्नुपर्नेमा सरोकारवालाहरुले ध्यानाकर्षण गराएका छन् । नेपाल पत्रकार महासंघ केन्द्रिय समिति र जिल्ला शाखाको आयोजनामा शुक्रवार भएको अन्तक्रियामा सहभागीहरुले राजनीतिक दल, निर्वाचन कार्यालय, खटिने कर्मचारी, सुरक्षा निकाय, संचार माध्याम सबैले आचारसंहिता पालना गर्नुपर्नेमा सहभागीले जोड दिएका हुन् ।

पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटाको अध्यक्षता एवं केन्द्रिय अध्यक्ष बिपुल पोखरेलको प्रमुख आथित्यतामा भएको कार्यक्रममा अध्यक्ष पोखरेलले पत्रकारले आचारसंहिता पालना गर्ने विषयमा अझै गम्भिर हुनुपर्ने बताए । ‘हामीले तथ्यमा सुचना, समाचार दिने हो, विश्लेषण गर्ने होईन’ उनले भने ‘सँधै निश्पक्ष र सत्यमा ध्यान दिनुपर्ने पत्रकार यो बेला अझै बढी चनाखो हुनुपर्छ ।’

पत्रकारले सामाजिक सञ्जाल प्रयोग गर्दा पनि आफ्नो सामाजिक, ब्यवशायीक मर्यादा, आचारसंहिता कानुनलाई ध्यान दिनुपर्ने अध्यक्ष पोखरेलले बताए । मूख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिश दिनबन्धु बरालले संचार माध्यामले अहिले सम्म गोरखामा निर्वाचन आचारसंहिता उलंघन नगरेको र यसलाई कायम राख्न अनुरोध गरे । ‘आचारसंहिता उलंघन भएको बारे उजुरी आएमा कानुनी कारवाही अघि बढ्नेछ’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले सबै राजनीतिक दलहरुले आचारसंहिता पालना गर्न प्रतिवद्धता जनाईसकेको बताए । कुनैपनि नागरिकले आफु माथि दुब्र्यवाहार, कुटपिट भएको बारे जानकारी गराएमा प्रशासनले कानुनी कारवाही प्रक्रिया अघि बढाउने उनले बताए । ‘मैले गोरखा आए लगत्तैपनि तपाईहरु सँग भनेको थिएँ, म रबाफ, प्रभाव र दबावमा काम गर्दिन, अहिले सम्म गरेको पनि छैन, अब पनि गर्दिन’ प्रजिअ आचार्यले भने ।

निर्वाचन आचारसंहिता एउटा पक्षलाई मात्र नभएर सबैलाई लाग्ने भएकाले सचेत हुनुपर्ने उनले बताए ।
निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर कोईरालाले कार्यालयको काम र निर्वाचन सामग्री ढुवानीको तयारी बारे जानकारी गराए । पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष कलेन्द्र सेजुवाल, गण्डकी प्रदेश सचिव कैलाशाबाबु श्रेष्ठ, पत्रकार महासंघ गोरखाका पूर्व अध्यक्ष भिमलाल श्रेष्ठ लगायतले कार्यक्रममा धारणा राखेका थिए ।

पत्रकारहरु कतिपय बेला निर्वाचनमा दलका कार्याकर्ता जस्तो भुमिकामा देखिएकाले आचारसंहिता बिपरितका काम गरेको खण्डमा कारवाही हुने महासंघले जनाएको छ । कुनैपनि तहमा उम्मेदवार बनेका पत्रकारहरुको सदस्यता खारेजी हुने केन्द्रिय अध्यक्ष पोखरेलले बताए । पत्रकार महासंघले यो कार्यक्रममा बिभिन्न जिल्लामा पनि संचालन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्