
चिठी ढिलो आउँदा पालुङटारमा कंडेलको उम्मेदवारी कायमै
गृह नगर आफ्नो पार्टीले पाउनुपर्ने अडान राखेका जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईको चित्त बुझाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पालुङटार नगरपालिकाका कांग्रेसबाट मेयर पदका उम्मेदवार दिपकबाबु कंडेलको उम्मेदवारी फिर्ता लिने निर्णय गरे ।
देउवाले उम्मेदवार फिर्ता बोलाउने पत्र निर्वाचन अधिकृतको कार्यालय पालुङटारमा नभई मूख्य निर्वाचन अधिकृतको कार्यालय गोरखामा पठाए । पाँच बजे भित्र पालुङटार जानुपर्ने उम्मेदवारी फिर्ताको पत्र ५ः५० मा मात्र आईपुगेको निर्वाचन अधिकृत गोकर्णराज पन्तले बताए ।
‘५ बजे भित्र पत्र आएको भए उम्मेदवारी फिर्ता हुन्थ्यो, हामीले नाम सार्वजनीक गरेपछि पत्र पाएका छौँ’ उनले भने ‘उम्मेदवारी कायम छ ।’ पत्रमा निर्वाचन अधिकृतको कार्यालय पालुङटारलाई संवोधन गरिएको छैन । समयमै आधिकारिक पत्र निर्वाचन अधिकृतको कार्यालयले प्राप्त नगर्दा देउवाले फिर्ता लिएका मेयर कंडेलको नाम अन्तिम नामावलीमा टाँस गरिएको छ ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २३ (५) मा उल्लेख भए अनुसार केन्द्रिय समितिले उम्मेदवार फिर्ता बोलाउन सक्ने ब्यवस्था छ ।
अन्तिम नामावलीमा नाम टाँस भएकाले अब निर्वाचन प्रक्रियामा सहभागी हुनुको बिकल्प नरहेको मेयर पदका उम्मेदवार दिपकबाबु कंडेलले बताए ।
सभापति देउवाले उम्मेदवार फिर्ता बोलाउन गरेको निर्णयको बिरोधमा पालुङटारका कांग्रेसका युवाहरुले नाराजुलुस सँगै बिरोध जनाएका कांग्रेस पालुङटार नगर सचिव किरण गिरीले बताए । निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षा ब्यवस्था थप कडा बनाइएको छ ।
इन्जिनियर समेत रहेका कंडेल यस अघि पनि पालुङटार नगरपालिकाका मेयर हुन् । २०७४ मा उनले माओवादीका उम्मेदवारलाई हराउँदै बिजयी बनेका थिए ।
जनता समाजवादी पार्टीले पाँच बजे भित्र पत्र पठाएकाले पालुङटार नगरपालिकाको उप मेयर नारायणी अधिकारीको उम्मेदवारी फिर्ता भएको छ ।
यस्तै गोरखा नगरपालिकाको मेयरमा कांग्रेसलाई सघाउने सहमती अनुसार जसपाले मेयर पदका उम्मेदवार सञ्जु भट्ट नेपालीको उम्मेदवारी पनि फिर्ता लिइएको जसपा गोरखाका अध्यक्ष यानप्रसाद भट्टले बताए ।




