
गोरखामा हाम्रो कोहीपनि उम्मेदवार छैनन् : नेकपा विप्लव
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा विप्लव) ले गोरखामा आफ्नो कोहीपनि आधिकारीक उम्मेदवार नभएको जनाएको छ ।
जिल्ला इन्चार्ज कृष्ण वाग्लेले आज एक विज्ञप्ती जारी गर्दै जिल्ला पार्टीले चुनावबारे कुनै निर्णय नगरेको, कुनै स्वतन्त्र उम्मेदवार खडा गर्ने र सहयोग गर्ने निर्णय नभएको बताएका छन् ।
नेकपाका पूर्व जिल्ला इन्चार्ज योगेन्द कुमालले गोरखा नगरपालिकाको मेयरमा उम्मेदवारी दिएपछि पार्टीले यो बिज्ञप्ती निकालेको हो ।
केही ब्यक्तिले पार्टीको राजनीतिक मर्यादा एवं संस्कार समेतको धज्जी उँडाउँदै पार्टीको नाम जोडेर स्वतन्त्र उम्मेदवारको प्रचार गरेकाले त्यसको पछि नलाग्न पार्टी कार्यकर्ता र जनतालाई इन्चार्ज वाग्लेले अनुरोध गरेका छन् ।
‘पार्टीको चुनावमा भाग नलिने नीतिको दृढतापूर्वक कार्यन्वयन गर्न असफल संसदीय ब्यवस्थाको भण्डाफोर गर्न समेत आह्वान गर्दछु’ बिज्ञप्तीमा भनिएको छ ।




