
गोरखामा कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धा गर्ने
गोरखामा कांग्रेस एक्लै चुनाव लड्ने भएको छ । कांग्रेस जिल्ला कार्य समितिको आज बसेको बैठकले स्थानीय निर्वाचनमा कांग्रेसले एक्लै चुनावी प्रतिस्पर्धा गर्ने निर्णय गरेको सभापति नन्दप्रसाद न्यौपानेले बताए ।
‘गठबन्धनलाई जीवित राख्न चाहन्थ्यौँ, दुःखको साथ भन्नुपर्छ केही साथीहरुको महत्वकांक्षा, राजनीतिक अपरिपक्वता देखाउनु भयो, त्यस कारण गठबन्धन गरेर निर्वाचनमा जान सकेनौँ’, सभापति न्यौपानेले पत्रकार सम्मेलनमा भने । कांग्रेस आफ्नो तयारीमा अघि बढेको उनले बताए । केन्द्रीय संयन्त्रले गठबन्धनका दल बीच चुनावी तालमेल हुन नसकेको खण्डमा मित्रवत प्रतिस्पर्धा गर्न सक्ने भनेकाले यो निर्णयमा पुगेको उनले बताए ।
‘यसअघि गठबन्धनका दलहरु बीच ८ वटा बैठक बस्यो’, गठबन्धन संयन्त्रका संयोजक समेत रहेका न्यौपानेले भने ‘चारवटै दल बीच सहमति नहुने भएपछि त्यसभित्र पनि सहमति खोज्यौँ । अन्ततः हामीले मित्रवत प्रतिस्पर्धा गर्ने निर्णयमा पुगेका हौँ ।’
शनिवार अपरान्ह कांग्रेस र माओवादी बीच चुनावी तालमेल गर्ने सहमति भएको थियो । उक्त सहमति भएको विषय बाहिर आएपछि जनता समाजवादी पार्टीले गठबन्धन दलभित्रका सबै दल बीच सहमति हुनुपर्ने दवाव दियो । केन्द्रीय नेताहरुबाट सबै दल बीच तालमेल गर्न दवाब आएपछि अन्ततः कांग्रेस एक्ला एक्लै लड्ने निश्कर्षमा पुगेको हो ।
बैशाख ३० गतेको स्थानीय निर्वाचनमा ११ वटै पालिका ९४ वटै वडामा कांग्रेसको उम्मेदवार रहने नेपाली कांग्रेसका जिल्ला सभापति न्यौपानेले बताए । आज बेलुकीसम्म वडा र पालिकाको उम्मेदवारको टुङ्गो लगाउने बताउँदै उनले सोमवार सबै तहमा मनोनयन दर्ता हुने दावी गरे ।
‘कांग्रेसले पार्टीको संगठनको ताकत, साथीहरुको मनोभावनालाई कदर गर्दै एक्लै जाने कार्यकर्ताको भावना अनुसार निर्णयमा पुगेका हौँ’ सभापति न्यौपानेले भने ।




