
पालिका भागवण्डा गर्न गोरखामा गठबन्धनको बैठक आज बस्दै
पालिका बाँडफाँडको विषयमा छलफल गर्न आईतवार तय भएको सत्ता गठबन्धनका दलहरुको बैठक बस्दै नबसी स्थगित गरिएको छ । बिषयकेन्द्री छलफलमा गम्भीर हुन र समय ब्यवस्थापन गर्न नसक्दा सोमबार बिहान ११ बजेसम्मका लागि बैठक गरिएको हो ।
गठबन्धन दलहरु बिच पालिकाको भागवण्डा नमिल्दा तालमेलको संभावना कम हुँदै गएको छ । एक अर्को दल आफ्नो दावीमा लचिलो नभएपछि बैठक औपचारिकतामा मात्रै सिमित हुँदै आएको छ । अबको बैठकमा पनि दलहरु बीच पालिका भागवण्डाको विषय पेचिलो हुने नेताहरु बताउँछन् ।
कांग्रेसले यसअघि जितेको नौ वटा स्थानीय तह मध्ये बढीमा एउटा पालिका छाड्न तयार संकेत गरेको छ । माओवादी केन्द्र चारवटा पालिकामा झर्ने र जनता समाजवादी दुईवटामा झर्ने संभावना रहेको यसअघिका छलफलमा सहभागी एक नेताले बताए । ‘कांग्रेस सात, माओवादी तीन र जसपा एउटामा सहमत हुने अवस्था आयो भने टुंगिन सक्ने देखिन्छ’, ती नेताले भने, ‘तर कांग्रेस ८, माओवादी पाँच र जसपा दुईवाट टसमस भएका छैनन् ।’
गठबन्धन दलहरु अहिलेसम्म भएको छलफलबारे केन्द्रीय नेतालाई जानकारी गराउनमा केन्द्रित भएपछि बैठकमा जुट्न सकेनन् । ‘म जिल्ला बाहिर भएकाले आईतवारको बैठकमा सहभागी हुन सकिन’, संयन्त्रका संयोजक नेपाली कांग्रेसका सभापति नन्दप्रसाद न्यौपानेले भने, ‘बैठक सोमवार बिहान ११ बजे बस्नेछ ।’ गठबन्धनका दलहरु बिच अबको छलफल निकासतर्फ केन्द्रित हुने बताउँदै सभापति न्यौपानेले अझै बलियो बनाएर गठबन्धन दलहरु अघि बढ्ने दावी गरे ।




