| मङ्लबार, कार्तिक २४, २०८३

गाउँपालिका बाँडफाँटको बिषयमा हिँजोको छलफल निश्कर्षबिहिन, अहिले बिहानदेखि बैठक बस्दै


गाउँपालिका बाँडफाँटबारे निर्णय गर्न बिहिबार आयोजित गठबन्धन दलको संयन्त्रको बैठक निश्कर्षबिहिन भएको छ । चारवटै पार्टीले आ–आफ्नो अडान नछाडेपछि होटल गोरखा गार्डेनमा भएको पहिलो दिनको बैठक बिना निश्कर्ष टुंगिएको हो ।


बैठकमा कांग्रेसले आठवटा पालिका दाबी गरेको छ । माओवादीले पाँचवटा, जसपाले तीनवटा र नेकपा एसले एउटा पालिका प्रमुखको दाबी गरेका छन् ।


मागदाबीमा सबै दल अडिग रहेपनि बैठक अत्यन्त सौहाद्र्र रहेको र शुक्रबार निश्कर्षमा पुगिने आशा रहेको जसपाका जिल्ला अध्यक्ष यानप्रसाद भट्टले जानकारी दिए । ‘पालिका बाँडफाँटसम्बन्धी पहिलो बैठक भएकाले सबैले आ–आफ्नो बटमलाइनको कुरा गर्नुभयो । विस्तृत छलफल र निश्कर्ष दोस्रो बैठकमा निस्केला’, उनले भने, ‘बैठक अत्यन्त सौहाद्र्र छ । निश्कर्ष पनि सौहार्द्र नै होला ।’


संयन्त्रको बैठकमा नेपाली कांग्रेसका सभापति नन्दप्रसाद न्यौपाने र सहसचिव लुमनाथ लामिछाने, माओवादीका अध्यक्ष लेखबहादुर थापा र लोकप्रसाद बञ्जरा, जनता समाजवादी पार्टीका अध्यक्ष यानप्रसाद भट्ट र सचिव विपिनचन्द्र ढकाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष यादव बस्नेत, जुद्ध विलास भण्डारी र सानुमाया बस्नेत सहभागी थिए ।

थप छलफल गर्न संयन्त्रको बैठक पुनः शुक्रबार बिहान आठबजेदेखि सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्