| मङ्लबार, कार्तिक २४, २०८३

दलित महिलाको शंकास्पद मृत्यूबारे छानबीन गर्न माग

गोरखा नगरपालिका ११ बारकिलोस्थित एक महिलाको मृत्यूको कारण छानबिन गर्न स्थानीयबासीले माग गरेका छन् । एकसाताअघि एक महिलाको कुटपिटबाट थला परेकी ३६ बर्षकी फूलमाया परियारको मृत्यू भएपछि घटनाको छानबिन गर्न माग गर्दै स्थानीयबासीले प्रहरी चौकी बारकिलोमा धर्ना र घेराउ गरेका छन् ।

बारकिलो बजारस्थित सार्वजनिक सौचालयमा सरसफाइ गरेर जीविका चलाउँदै आएकी परियारको भरतपुर अस्पतालमा उपचारको क्रममा गत मंगलबार मृत्यू भएको थियो । उनलाई स्थानीय होटल व्यवसायी दुर्गा आलेले गत चैत १७ गते साँझ कुटपिट गरेर घाइते बनाएको मृतकका आफन्त विकास परियारले बताए ।

‘सातबर्षकी छोरी बर्षा परियारले होटलबाट ‘चिसो’ झिकेर आइछन् । त्यही बिषयमा विवाद हुँदा दुर्गाले कुटेकी रहिछन्’, मृतकका भाइ नाता पर्ने परियारले भने, ‘त्यसपछि भोलिपल्ट पनि दिदी ड्युटीमा जानु भएन । पर्सिपल्ट पनि जानु भएन । २० गते छिमेकीहरु घरमा हेर्न जाँदा निस्लोट भएर सुतिरहनु भएको रहेछ । अनि गाउँलेहरु भेला भएर गोरखा अस्पतालमा उपचार गर्न लगे ।’

गोरखा अस्पतालले पनि नसकेपछि भरतपुर अस्पतालमा रिफर गरेको तर भरपुर अस्पतालमा उपचार गराउँदा गराउँदै गत मंगलबार मृत्यू भएको उनले बताए ।

घटनाको निश्पक्ष छानबिनको माग गर्दै स्थानीयबासीले प्रहरी चौकीमा लास राखेर बुधबार राती रातभर नाराबाजी गरेका छन् । दोशीमाथि कडा कारबाही हुनुपर्ने र मृतकको परिबारलाई राहतको व्यवस्था हुनु पर्ने उनीहरुको माग छ ।

घटना बारे छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक हिमनाथ घिमिरेका अनुसार अहिले शव गोरखा अस्पतालमा राखिएको र अनुसन्धानको क्रममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्