| मङ्लबार, कार्तिक २४, २०८३

चुनावी तालमेलको आक्रोश भुसको आगो बन्दै

सत्ता गठबन्धनका पाँचदल आसन्न चुनावमा तालमेल गर्ने बिषयमा गोरखाका नेता कार्यकर्ता असन्तुष्ट छन् । चुनावी तालमेलले स्वस्थ प्रतिस्पर्धा नहुने र निषेधको राजनीतिक हुने भन्दै नेता कार्यकर्ताले असन्तुष्टि जनाएका हुन् ।

गोरखामा सत्ता गठबन्धनका चारवटा पार्टी मात्र छन् । उनीहरुमध्य पनि यहाँ बिगत तीसबर्षदेखि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बीच प्रतिस्पर्धा हुने गरेको थियो । तर पहिलो र दोस्रो शक्ति बीच तालमेल गरेर तेस्रो, चौथो शक्तिसित प्रतिस्पर्धा भएपछि अरु पार्टीहरुमा प्रतिस्पर्धा गर्नुको औचित्य नै नभएको उनीहरुको टिप्पणी छ ।

गोरखाका ११ स्थानीय तहमध्य २०७४ को निर्वाचनमा नौ पालिका कांग्रेस र दुई पालिका माओवादी केन्द्रले जितेको थियो ।
माओवादीको सशस्त्र युद्धका बेला दुवै पक्षबीच ठूलो जन र धनको क्षति भएकाले दुवैपक्ष एक अर्कालाई मतदान गर्न तयार देखिँदैनन् । तालमेलको गृहकार्य गरिरहे पनि पार्टीहरु बीच अविश्वास जारी छ । ‘हँसिया हथौडामा भोट हाल्नुपर्छ भने भोट हाल्नै जान्न’ भन्ने कांग्रेस कार्यकर्ताको आक्रोश छ भने ‘रुख चिन्हमा कुनै हालतमा भोट हालिन्न’ भन्ने माओवादी कार्यकर्ताको आक्रोश पनि चर्कै छ ।

गोरखामा कांग्रेस र माओवादी बीचको तालमेल अस्वभाविक रहेको कांग्रेसका जिल्ला सचिव किशोरजंग थापा तर्क गर्छन् । ‘अरु जिल्ला र गोरखा जिल्लाको अबस्था अल्लि फरक छ । अरु जिल्लामा कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी हुन् तर गोरखामा कांग्रेस र माओवादी मुख्य प्रतिस्पर्धी छन्’, थापा भन्छन्, ‘पहिलो र दोस्रो शक्ति बीच नै तालमेल गरेपछि न्यून संख्यामा रहेका अरु पार्टीलाई निषेध गरे जस्तो हुन्छ । त्यसैले गोरखामा तालमेल अस्वभाविक छ ।’ तालमेलले तत्कालका लागि वातावरण आफ्नो पक्षमा बने पनि प्रकारान्तरमा परिणाम प्रतिकूल हुने उनले दाबी गरे ।

तालमेल राम्रो कुरा नभएको नेकपा माओवादी केन्द्रको नेता पनि स्वीकार गर्छन् । तर प्रतिगमनविरुद्ध तालमेल गर्न बाध्य हुनु परेको नेता परशुराम रम्तेल बताउँछन् । ‘तालमेल राम्रो कुरा त हुँदै होइन तर पनि यो अलिअलि रहर, अलिअलि बाध्यता, अलिअलि स्वभाविक, अलिअलि अस्वभाविक हो’, केन्द्रीय सदस्य रम्तेल भन्छन्, ‘यो रणनीतिक कुरा होइन, कुटनीतिक कुरा हो । जनआन्दोलन, जनयुद्धबाट प्राप्त संविधान, लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गर्नुपरेको बाध्यात्मक कदम हो ।’ आफूले जित्ने ठाउँमा तालमेल गर्नुपर्दा सबैलाई दुख लाग्ने, आफूले हार्ने ठाउँमा तालमेल गर्न पाउँदा सबैजना खुशी हुने उनले बताए ।

गठबन्धनको अर्को शक्ति जनता समाजवादी पार्टी पनि तालमेलमा खुशी देखिँदैन । तालमेलले कमजोर शक्तिमाथि सिण्डिकेट लाग्ने जसपाका केन्द्रीय सदस्य गोपालबाबु श्रेष्ठ बताउँछन् । ‘चुनावी तालमेल धेरै दृष्टिकोणले बेठिक छ । अहिले तालमेल देशका लागि आवश्यक होइन, कुनै अमुक पार्टीका अमुक उम्मेद्वारलाई जिताउन मात्र गर्न खोजिएको छ’, उनी भन्छन्, ‘तालमेल कसका लागि ? देशका लागि कि, जनताका लागि कि, अमुक पार्टीका अमुक उम्मेद्वारका लागि कि कसका लागि ? तालमेल गरेर जितेपछिको राष्ट्रिय एजेण्डा के छ ? राष्ट्रिय एजेण्डा हो भने एजेण्डाबाहिर को छ ? कसलाई हराउनु पर्ने छ ? यी सबैकुरा प्रष्ट पार्नुपर्छ ।’ प्रतिस्पर्धाबाट डराएर गर्न लागिएको चुनावी तालमेलविरुद्ध ठूलो जनमत रहेको उनले बताए ।

कुन वडामा, कुन पालिकामा कुन पार्टी कति छन् भनेर पहिचान गर्न पनि बिनातालमेल चुनाब लड्नु पर्ने पार्टीका नेता, कार्यकर्ताको माग छ । नीति, सिद्धान्त, ‘आइडोलोजी’ नमिल्ने पार्टीहरु बीच हुन लागेको तालमेल स्वार्थबाट अभिप्रेरित भएकाले यसको परिणाम पनि राम्रो नहुने उनीहरुको भनाइ छ ।

२०७४ सालको चुनावमा गोरखामा कांग्रेस र नयाँशक्ति बीच चुनावी तालमेल भएको थियो । ‘आफ्नै चुनाव चिन्हमा, आफ्नै पार्टीका उम्मेद्वारलाई भोट हाल्न नपाउने हो भने राजनीति किन गर्ने ? कसका लागि गर्ने ?’, शहीदलखन गाउँपालिका वडा नं. ८ का अध्यक्ष काशिनाथ अम्गाई भन्छन्, ‘जीवनभर राजनीति गरेर आफू उम्मेद्वार बन्न पनि नपाउने, आफ्नै निकटत्तम प्रतिस्पर्धीलाई भोट दिएर जिताउनु पर्ने हो भने राजनीति गर्नुको कुनै अर्थ छैन । गर्न पनि गरिँदैन ।’

यसअघि २०७४ को चुनावमा पनि तत्कालीन नयाँशक्ति र कांग्रेसले एक अर्कालाई सतप्रतिशत मतदान नगरेकाले यसपटक पनि इमान्दारपूर्वक तालमेल गरेको पार्टीका उम्मेद्वारलाई भोट हाल्नेमा शंका छ ।

प्रतिक्रिया दिनुहोस्