
प्रतिनिधिको विषयमा किचलोपछि साना शहरीको अधिवेशन लम्बियो
पृथ्वीनारायण साना शहरी खानेपानी आयोजना उपभोक्ता समितिको अधिवेशन स्थगित भएको छ । शुक्रवार गोरखा सदरमुकाममा भएको दशौँ साधारण सभा एवं पाचौँ अधिवेशनमा प्रतिनिधिका विषयमा बिवाद भएपछि स्थगित भएको हो ।
अधिवेशनमा सहभागी हुन बिभिन्न छ वटा क्षेत्रिय उप समिति सहित कार्यसमितिबाट गरी ४६ जना प्रतिनिधिको नाम निर्वाचन मण्डलले टाँसेको थियो । उक्त नामावलीमा रहेका प्रतिनिधिको धारा जडान नभएको, केहीको बिवरण अद्यावधी नभएको पाइएको अध्यक्ष बिनोद अर्यालले बताए ।
निर्वाचन मण्डलले मतदाता नमावली प्रकाशन गरिसकिएको तर नोमिनेशन र चुनावको काम बाँकी रहेको जनाएको छ । निर्वाचन मण्डलका यादव शर्माले सोमवार दिउँसो १ बजे सम्मका लागि निर्वाचन स्थगित गरिएको बताए । सोमवार १ देखि ४ बजे सम्म निर्वाचन हुने बताइएको छ । छलफल लम्बिँदै जाँदा समय अभाव भएको र सोमवार सम्म अहिले उठेका समस्या समाधान गरेर निर्वाचन गर्ने छलफल भएपछि निर्वाचन मण्डलले अधिवेशन लम्ब्याएको हो ।
एक हजार दुई सय भन्दाबढि उपभोक्ता रहेको पृथ्वीनारायण शाना सहरी खानेपानी उपभोक्ता समितिले गोरखा बजारमा पानी बितरण गर्दै आएको छ । पानी धमिलो र अनियमित हुने विषय लिएर उपभोक्ता असन्तुष्ट हुँदै आएका छन् । संस्थाले भने सिमित साधन स्रोतका बिच पानी बितरण गर्नुपर्ने बाध्यतात्मक अवस्था रहेको बताउँदै आएको छ ।
संस्थाका अध्यक्ष बिनोद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा मेयर राजनराज पन्त, पूर्व अध्यक्ष बद्री मास्के, केन्द्रिय सदस्य भाईचन्द्र श्रेष्ठ, गोरखा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष कृष्णबहादुर केसी लगायतले उद्घाटन सत्रमा मन्तब्य राखेका थिए । बन्द सत्रमा सचिवको प्रगती प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन अनुमोदन भएको अध्यक्ष अर्यालले बताए ।




