
धार्चे गोरखाको पहिलो र प्रदेशको दोस्रो कोभिड खोप सुनिश्चितता गाउँपालिका घोषणा
धार्चे गाउँ कार्यपालिकाको कार्यालयले गाउँपालिकालाई गोरखाको पहिलो र गण्डकी प्रदेशको दोस्रो कोभिड–१९ पूर्णखोप सुनिश्चितता भएको गाउँपालिका घोषणा गरेको छ । गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले मंगलबार कोभिड–१९ कोरोना भाईरस विरुद्धको पालिका पुर्ण खोप सुनिश्चितता घोषण सभामा गाउँपालिकालाई कोभिड–१९ पूर्ण खोप सुनिश्चितता घोषणा गरेका थिए ।
धार्चेका सात वटा वडाका १० हजार पाँच सय ५७ जनालाई कोभिडको दोस्रो मात्राको खोप लगाएसँगै पूर्णखोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक अमृतबहादुर घलेले बताए । लामो समयको प्रयासपछि गाउँपालिकालाई खोप सुनिश्चितता घोषणा गर्न सफल भएको उनको भनाइ छ ।
‘गाउँपालिकालाई पूर्ण सुनिश्चितता घोषणा गर्न धेरै पहिलादेखि नै प्रयास गरेको थियो । कतिपय स्थानमा खोप लगाउन जाँदा स्वास्थ्यकर्मीलाई स्थानीयहरुले लखेट्ने काम समेत भएका थिए । धेरै खोप लगाउनै मानेन । एक जनालाई खोप लगाउन छुटेमा खोप सुनिश्चितता घोषण गर्न मिल्दैन ।
त्यसैले छुटेका स्थानीयहरुका लागि घरघरमा पुगेर खोप लगाउने काम ग¥यौँ’, उनले भने, ‘नजिकको स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, नजिकको नातेदार, शिक्षक, स्थानीय अगुवा, नेता लगायतका सबैको सहयोगमा सबैलाई खोप लगाउन सफल भयो । त्यसैले धार्चे गाउँपालिकालाई खोप सुनिश्चितता घोषणा गर्न सफल भइयो ।’
सरकारको नियम अनुसार सबै प्रक्रिया पु¥याएर खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको उनले जानकारी दिए । उनका अनुसार खोप लगाएका व्यक्तिहरुको नाम र खोप कार्ड भए नभएको सबै चेकजाँच गरिएको र खोप लगाएको र नलगाएको घरधुरी सर्वेक्षण गर्ने क्रममा छुटेका ८६ जनालाई पनि कोभिड विरुद्धको दोस्रो मात्राको खोप लगाएर खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको उनले बताए । यसका लागि सम्पूर्ण प्रक्रिया पु¥याएर जिल्ला खोप समन्वय समिति, प्रदेश र राष्ट्रिय खोप समन्वय समितिलाई पत्र पठाएको थियो । उनीहरुले प्रमाणित गरेसँगै खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।
स्थानीयहरुले खोपबारेमा नबुझ्नाले स्वास्थ्यकर्मीहरु पटक–पटक घरघरमा पुग्नुपरेकाले ढिलाई भएको गाउँपालिका अध्यक्ष गुरुङले बताए । स्वास्थ्यकर्मी, स्थानीय लगायतका सबैको सहयोग र समन्वयमा धार्चे गाउँपालिका कोभिड–१९ पूर्णखोप सुनिश्चितता घोषणा गर्न सफल भएको गुरुङ बताउँछन् । जनताको सेवाका लागि धार्चे गाउँपालिका सबै लागि परेको बताउदै गाउँपालिकाको कार्यसम्पादनमा धार्चे जिल्लाकै उत्कृष्ट भएको समेत उनले दावी गरे ।
‘पुर्ण खोप सुरक्षित भविष्य स्थानीय स्वामित्व र सहभागिता, पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने’ नारा सहित विभिन्न ¥याली सहित विभिन्न कार्यक्रमको आयोजना गरी धार्चेलाई कोभिड–१९ पुर्णखोप सुनिश्चिता गाउँपालिका घोषण गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रमलाई गाउँपालिका स्वास्थ्य शाखाका संयोजक अमृत बहादुर घलेले सहजीकरण गरेका थिए ।
गाउँपालिका अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा तथा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्षहरु, गाउँपालिका निमित्त प्रशासकीय अधिकृत रुलबहादुर आले, जिल्ला प्रहरी कार्यालयका एसपी केदार खनाल,स्वास्थ्य कार्यालय गोरखाका प्रमुख विध्या तामाङ लगायत गाउँपालिकाको कर्मचारी र स्थानीयहरुको सहभागिता रहेको थियो ।




