| मङ्लबार, कार्तिक २४, २०८३

अब गोरखामै बन्ने भो, गोर्खाली ढाकाटोपी

अब ढाका टोपी गोरखामै बन्ने भएको छ । गोर्खाली ढाका टोपी बनाउन महिला उद्यमी संघ नेपाल गोरखाले १० जना महिलाहरुलाई तालिम दिन सुरु गरेको छ । सहभागीले एक महिनासम्म सिप सिकेपछि गोरखाको पहिचानका रुपमा ढाका टोपी तयार गर्नेछन् ।


तालिमको सोमबार एक कार्यक्रमका बीच गोरखा नगरपालिकाकी उपमेयर बिनाकुमारी श्रेष्ठले उद्घाटन गरेकी हुन् । तालिम उद्घाटन गर्दै उपमेयर श्रेष्ठले काम गर्न र ब्यवसायमा लाग्न चाहनेलाई नगरपालिकाले सहयोग गर्ने बताइन् । हरेकबर्ष उपप्रमुख सवल नेतृत्व कार्यक्रम अन्तरगत १४ वटै वडामा बिभिन्न तालिम लिएकाहरु अहिले आत्मनिर्भरको बाटोमा अघि बढेकाले कार्यक्रमको उपलब्धी देखिन थालेको उनले बताइन् । महिलालाई उद्यमीका रुपमा विकास गर्न ढाकाटोपी बनाउने तालिम दिन लागिएको उद्यमी संघकी अध्यक्ष रिता रेग्मी अर्यालले बताइन् ।


गोरखाबाट हस्तकलाका सामग्री निर्यात गर्नेगरी संघ अघि बढेको सचिव सृजना पाण्डेले जानकारी दिइन् । अहिले संघले बिभिन्न खालका सिपमुलक अन्य तालिम पनि संचालन गरिरहेको उनले बताईन् ।


तालिम उद्घाटन कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष कृष्णबहादुर खत्री, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, उद्यमी विकास समितिका अध्यक्ष सुशीला श्रेष्ठ, आयोजक संस्थाकी उपाध्यक्ष सुष्मा श्रेष्ठ लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्