
गोरखामा विद्युत प्राधिकरणको चरम लापर्वाही रहेको जनप्रतिनिधिको गुनासो
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गोरखाले चरम लापर्वाही गरेको जनप्रतिनिधिले गुनासो गरेका छन् । पटक–पटक प्राधिकरणलाई समस्याका बारेमा जानकारी गराउँदा पनि समाधान नभएको जनप्रतिनिधिहरुको गुनासो छ ।
‘पालुङटारको आँपपिपल अस्पताल जाने सडक कालोपत्रे रोकिएको छ’, मेयर दीपकबाबु कँडेलले भने, ‘बाटोमा पर्ने तीनवटा पोल र ५० मिटर तार प्राधिकरणले नसारेका कारण दुई वर्ष देखि हामीले बाटो बनाउन पाएनौँ ।’ धेरै पटक अनुरोध गर्दा पनि बेवास्था गरेको बताउँदै उनले प्राधिकरणका कर्मचारीले थप रकम दिए तत्काल पोल सार्ने अन्यथा झुलाउने गरेको बताए ।
‘पालुङटार जाने सडकमा पनि बिचमा पोल गाडिएको छ, त्यहाँ बाटो बिस्तार भईरहेको छ, भोलि फेरि त्यही पोल अर्को ठाउँमा सार्न प्राधिकरणले पैसा माग्छ’ उनले भने ।
भीमसेन थापा गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले वडा नम्बर ७ बोर्लाङमा एक वर्षदेखि ट्रान्सफर्मर नराखिदिँदा समस्या भएको बताए । ‘जनताले प्रश्न गर्छन्, हामीसँग ट्रान्सफर्मर हाल्ने जनशक्ति छैन, विद्युतलाई भन्यो टेर्दैन ।’ प्राधिकरणको लापर्वाही बढ्दै गएको उनले बताए ।
सोमवार जिल्ला प्रशासन कार्यालयमा आयोजित बिपद् ब्यवस्थापन समितिको बैठकमा जनप्रतिनिधिहरुले विद्युतको समस्याले जनता आजित भएको भन्दै प्रजिअ र बितरण केन्द्रका कर्मचारी समक्ष विषय उठाएका हुन् ।
बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु भट्टले बारपाक जाने बाटोमा राङरुङदेखि माथि ढलेको पोल अहिलेसम्म नउठेको बताए । ‘गाउँपालिकाको कार्यालयमा महिनामा १० दिन पनि पूरा राम्रोसँग बत्ति आउँदैन’, उनले भने, ‘हामीले जनतालाई छिटो छरितो, सजिलो गरी कसरी सेवा दिनु ?’
खोलखोलेदेखि गोरखा नगरपालिका तर्फको सडक स्तरोन्नतिको काममा पनि बिजुलीको पोल बाधक भएको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बताए । उक्त विषयमा प्राधिकरण बितरण केन्द्रलाई जानकारी गराएको तर काम सुरु नभएको उनले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले विद्युत सम्बन्धी समस्या आफुलाई पनि चौतर्फी आउने गरेको बताए । सडक स्तरोन्नति भईरहेको ठाउँमा बीच सडकमा पोल गाडिदिने, कतै पोल सार्नुपरेमा बेवास्ता गर्ने, ट्रान्सफर्मर सडक छेउमा अलपत्र छाड्ने काम भएको बताए ।
प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले आफुले पनि जनप्रतिनिधिले गरेको गुनासो सुनवाई गर्न विद्युत प्राधिकरण बितरण केन्द्रलाई निर्देशन गरेको बताए । स्थानीय तहले खरिद गरेको ट्रान्सफर्मर पनि समयमै नराखेका कारण कतिपय ठाउँमा चाहेर पनि स्थानीयले बत्ती बाल्न पाएका छैनन् ।
बितरण केन्द्र गोरखाले भने पोल स्थानान्तरणको बजेट नभएकाले समस्या भएको बताएको छ । बितरण केन्द्रका इन्जिनियर हेमराज चापागाईले बाटोमा रहेको पल सार्न छुट्टै बजेट नहुने र तार पनि चाहिने भएकाले स्टमेट गरेर लाग्ने खर्च प्राधिकरणको खातामा जम्मा गरेपछि मात्रै काम गर्न सकिने बताए । ठुला योजनाको हकमा भने पोल स्थानान्तरणका लागि अनुमति समेत लिनुपर्ने उनले बताए ।




