| सोमवार, कार्तिक २३, २०८३

मुख्यमन्त्री पोखरेलद्वारा पत्रकार महासंघ गोरखाको भबन शिलान्यास

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकार महासंघ गोरखा शाखाको भबन शिलान्यास गरेका छन् । सोमवार गोरखा नगरपालिका ८ मा निर्माण हुन लागेको तीन तले भबनको मुख्यमन्त्री पोखरेलले शिलान्यास गरेका हुन् ।

भबन शिलान्यास गर्दै उनले पत्रकाहरुका संस्थागत बिकास र क्षमता अभिवृद्धीका लागि गण्डकी प्रदेश सरकारले सहयोग गरेको बताए । साथै उनले प्रदेश सरकारले गरेका केही गल्ती कमजोरी भए त्यस्ता विषय बाहिर ल्याईदिन पत्रकारहरुलाई अनुरोध गरे । ‘हामीबाट केही गल्ती भएमा त्यसलाई सुधार गर्ने मौका संचारमाध्यामबाट मिलोस्’ उनले भने ‘राम्रा कामलाई मात्र स्थान दिनुस् म भन्दिन ।’

प्रदेश सरकारलाई दिइएको सुझाब र समस्याका बारेमा आफु संवेदनशिल रहेको बताउँदै उनले गुनासो निराकरण गर्ने गरी अघि बढ्ने बताए । साथै उनले अहिले ‘सिड मनी’ को रुपमा १० लाख मात्रै पत्रकार महासंघ गोरखाको भबन निर्माणका लागि बिनियोजन गरेको र थप रकम सहयोग गर्दै जाने बताए ।

पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष रमेश बिष्टले पत्रकार महासंघको भबन निर्माणमा सबैको साथ सहयोग आवश्यक पर्ने बताए । ‘पत्रकारले निश्वार्थ सहयोग लिने गर्नुपर्छ, सहयोगकै कारण समाजमा भष्ट्राचार र अनियमितता मौलाउन दिनु हुँदैन ।’ देशभरका सबै जिल्लामा संस्थागत बिकासका लागि भबन आवश्यक पर्ने बताउँदै उनले सुचना तथा सञ्चार मन्त्रालयमा पनि थप बजेटका लागि महासंघले समन्वय गर्ने बताए ।

गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले गोरखा नगरपालिकाले चालु वर्ष पाँच लाख बिनियोजन गरेको र अहिले पनि कार्यालय रहेको कक्ष उपलब्ध गराएको बताए । ‘भबन निर्माण पुरा गर्न के गर्नुपर्छ त्यसका लागि नगरपालिका तयार छ’ उनले भने ।
पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले प्रदेशका छ जिल्लामा भबन निर्माणका लागि सरकारले १०÷१० लाख बिनियोजन गरेको बताए । ती मध्ये लमजुङ र गोरखामा मात्रै भबन निर्माण सुरु भएको छ । आगामी वर्ष बजेट थप गर्ने र भबन निर्माण पुरा गर्न यहाँका स्थानीय तहको पनि सहयोग आवश्यक पर्ने उनले बताए ।

कार्यक्रममा पत्रकार महासंघका संस्थापक किशोरजंग थापाले भबन निर्माण सुरु गरेको महासंघलाई सरकारले सम्पन्न गर्ने गरी बजेट दिनुपर्ने बताए । ‘८० लाखको भबन लाई १० लाख दिएर पत्रकारलाई मगन्ते नबनाईयोस्’ उनले भने ।
पत्रकार महासंघ गोरखा शाखाको भबन गोरखा नगरपालिका ८ रानिबनका शम्भु खत्रीले दान दिएको दुई आन र खरिद गरिएको एक आना गरि तीन आना क्षेत्रफलमा निर्माण हुन लागेको हो । उक्त भबनको पहिलो तलामा हल, दोस्रो तला कार्यालय र तेस्रो तला गेस्ट रुम रहने महासंघका सचिव बिकास मरहट्टाले बताए ।

फर्निचर र बाहिरको निर्माण काम बाहेक भबन मात्र तयार गर्न ८० लाख रुपैयाँ लाग्ने महासंघले जनाएको छ । भबन निर्माणका लागि चालु वर्ष गोरखा नगरपालिकाले पाँच लाख रुपैयाँ, सिरानचोक गाउँपालिकाले दुई लाख रुपैयाँ बिनियोजन गरेको छ । भबन शिलान्यास कार्यक्रममा कार्यालय प्रमुखहरु, राजनीतिक दलका नेताहरु, नागरिक समाज तथा संघ संस्थाका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्