
धादिङको निलकण्ठ र गोरखा नगरपालिकाको बैठक बारपाकमा
धादिङको निलकण्ठ नगरपालिका र गोरखा नगरपालिकाको कार्यपालिका बैठक बारपाकमा सम्पन्न भएको छ । निलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गानासहित कार्यपालिकाका ३० जना र गोरखा नगरपालिकाका मेयर राजनराज पन्त सहित कार्यपालिका सदस्यहरु बैठकमा सहभागी थिए ।
बैठक तीनवटा ऐजेण्डामा केन्द्रित रहेको थियो । भगिनी सम्बन्ध जोडेका यी दुई नगरपालिकाले अहिलेसम्म सहकार्यमा भएका क्रियाकलापको समिक्षा भएको गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बताए ।
निलकण्ठ नगरपालिकाले यूएसआईडीको सहयोगमा तयार नेपाल परियोजना गरेको बिपद् ब्यवस्थापन निकै उत्कृष्ट रहेको र निलकण्ठ नगरपालिका देशकै उत्कृष्ट घोषित भएकाले उक्त परियोजना गोरखामा पनि लागु गर्ने विषयमा छलफल भएको छ ।
उक्त परियोजनालाई गोरखा नगरपालिकामा पनि आर्थिक एवं प्राविधिक दृष्टिकोणले कामकाज अगाडि बढाउन संयुक्त रुपमा अनुरोध गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत पन्तले बताए । ‘यसो गर्दा गोरखा नगरपालिकालाई पनि फाईदा हुन्छ’ उनले भने ।
ऐतिहासिक धार्मिक, र सांस्कृतिक एवं पर्यटकीय हिसाबले निकलण्ठ नगरपालिकाको पहिचान झल्कने किसिमको प्रतिमूर्ति गोरखा नगरपालिकामा स्थापना गर्ने र गोरखाको नगरपालिकाको पनि सोही प्रकृतिको प्रतिमूर्ति निलकण्ठ नगरपालिकामा स्थापना गर्ने निर्णय बैठकमा भएको छ ।
‘दुबै नगरपालिकाले एक आपसमा पहिचान झल्कने गरी पर्यटन प्रर्वद्धन गर्न यो निर्णय गरिएको हो’, उनले भने ।
निलकण्ठ नगरपालिकाले पनि गोरखा नगरपालिकालाई दुई पालिका बिचको असल अभ्यास साँटासाट गर्न आमन्त्रण गर्ने बताएको छ । भुकम्पको केन्द्रबिन्दु बारपाकको पुनर्निर्माण हेर्न र केही सिकाईका लागि बैठक बारपाकमा आयोजना गरिएको गोरखा नगरपालिकाले जनाएको छ ।




