
गर्भवती र सुत्केरीको स्वास्थ्य जानकारी लिन स्वयम सेविकालाई मोबाइल
गर्भवती र सुत्केरी महिलाहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिन स्वास्थ्य स्वयमसेविकालाई मोबाइल वितरण वितरण गरिएको छ । गोरखाको शहीदलखन गाउँपालिका वडा नं ७ र ८ को स्वास्थ्य केन्द्रमा कार्यरत स्वयम सेविकाहरुलाई ‘मोवाईल स्वास्थ्य कार्यक्रम’ अन्तरगत शुक्रबार मोबाईल वितरण गरिएको हो ।
बुङकोट स्वास्थ्य चौकी र बुङकोट आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत १२ जनालाई मोबाईल वितरण गरिएका वडा नं ७ का वडा अध्यक्ष शरण श्रेष्ठले बताए । उनीहरु मध्ये नौ जना स्वयमसेविका र दुई जना कार्यालय सहयोगी रहेका छन् ।
आर्थिक वर्ष २०७८÷०७९ को योजना अनुसार एक लाख र एक लाख २० हजार रुपैयाँ रकमबाट दुई वटा स्वस्थ्य संस्थामा कार्यरत महिला स्वयम सेविकाहरुलाई मोबाईल वितरण गरिएको हो । उनीहरुलाई सामसुङ मोबाईल सेट वितरण गरिएको थियो ।
गर्भवती महिला र सुत्केरी महिलाको स्वास्थ्य अवस्था जानकारी राख्न र सन्देश पठाउनका साथै स्वयमसेविकाहरुलाई काम गर्ने हौसला बढाउन मोबाईल वितरण गरिएको श्रेष्ठले बताए । कार्यक्रममा वडा नं ७ का वडा अध्यक्ष श्रेष्ठ, वडा नं ८ का काशीनाथ अम्गाई, दुवै वडाका वडा सदस्य, स्वस्थ्य स्वयसेविका लगायतको उपस्थिति रहेको थियो ।
उक्त वडामा जेष्ठ नागरिक, गर्भवती, सुत्केरी महिला र अपाङता भएका व्यक्तिहरुलाई गोरखा अस्पताल सम्म निशुल्कमा एम्बुलेन्स सेवा र जेष्ठ नागरिकहरुलाई घर घरमा स्वस्थ्य परिक्षण सेवाहरु पनि संचालन गर्दै आएका छन् ।




