
सामागाउँ र साम्दोमा मोबाइल सेवा सुरु
तिब्बतको सीमानामा रहेको गोरखाको सबैभन्दा अन्तिम गाउँ सामागाउँ र साम्दोमा मोबाइल सेवा सञ्चालन भएको छ । मंगलबारदेखि नेपाल टेलिकमको टुजी प्रविधिको नमस्ते मोबाइल सेवा सुरु भएको चुमनुब्री गाउँपालिका १ सामागाउँका वडाअध्यक्ष वीरबहादुर लामाले जानकारी दिए ।
मंगलबारदेखि सीमावर्ती सो वडाका २२५ घरधुरीका बासिन्दाले मोबाइल सुविधा पाएका उनले बताए । ‘टेलिकमका कर्मचारीहरुले तीन दिन काम गरेर आजदेखि मोबाइल सेवा सञ्चालन गर्नुभएको छ’, उनले भने, ‘कम्तिमा पनि प्रत्येक घरका दुईजनाले मोबाइल सेवा प्रयोग गर्छन् ।’ नेपाल टेलिकमले सामागाउँमा टावर स्थापना गरेको छ ।
सो टावरबाट सामागाउँ, साम्दो र मनास्लु बेसक्याम्पसम्म मोबाइल सेवा सञ्चालन हुने वडाअध्यक्ष लामाले बताए । सडक सञ्जालले नजोडेका कारण यातायातको सेवा नचलेको दुर्गम गाउँमा मोबाइल सेवा सञ्चालन हुँदा काठमाडौँ लगायतका ठाउँमा सम्पर्क गर्न सजिलो हुने वडा सदस्य मिङ्मार लामाले बताए ।
‘गाउँलेलाई पनि सुविधा हुने भयो, पर्यटक र उनीहरुसित आउने नेपाली गाइड, भरियाहरुलाई पनि सहज हुने भयो’, उनले भने, ‘त्यसैले गाउँले खुशी भएका छन् ।’ वडाअध्यक्ष लामाका अनुसार अहिले ‘टुजी’ प्रविधिको मोबाइल सञ्चालन भएको हो । छिट्टै फोरजी सेवा सञ्चालन हुने नेपाल टेलिकमबाट जानकारी प्राप्त भएको उनले बताए ।




