| सोमवार, कार्तिक २३, २०८३

सामाजिक सुरक्षा भत्ता हिनामिनाको आरोपमा अजिरकोटका चार जनाविरुद्धको अख्तियारद्वारा मुद्दा

सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले विशेष अदालत काठमाण्डौँमा एक वडा सचिव सहित गोरखाका चारजनाबिरुद्ध आरोप पत्र दायर गरेको छ ।

२०७३÷०७४ मा साविक हंसपुर र मुच्चोक गाविस हाल अजिरकोट गाउँपालिका वडा नम्बर ३ र ५ मा कार्यरत तत्कालीन गाविस सचिव दीपकबहादुर दर्जीले वडाको रकम हिनामिना गरेको उजुरीपछि अख्तियारले छानबिन गरेको हो । छानबिनका क्रममा वडा सचिव दर्जी, हेल्थ असिस्टेन्ट सुरेश दवाडी, तत्कालिन कार्यालय सहयोगी बिशाल बिक र साविक मुच्चोक गाविसका अहेब चन्द्रकान्त सुवेदी समेतको हस्ताक्षरबाट खाता संचालन भएको देखिएको छ । अख्तियारी चारै जना बिरुद्धको आरोप पत्र दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।

उनीहरुले तत्कालिन जिल्ला बिकास समितिमा सामाजिक सुरक्षा भत्ताको तेस्रो किस्ताको हिसाब नबुझाएको भेटिएको हो । सामाजिक सुरक्षा भत्ता बितरण गर्नका लागि चेक मार्फत रकम लिएको तर बितरण नगरेको अख्तियारले जनाएको छ । भ्रष्ट्राचार निवारण ऐन २०५९ अनुसार निजहरुले कसुर गरेको पुष्टि भएकाले दर्जीलाई ६० लाख ९७ हजार छसय रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।

आरोपीमध्ये दीपबहादुर दर्जी र शुरेस दवाडीको संयुक्त चेकबाट रकम निकाली बिशाल बिकको खातामा जम्मा गरि २७ लाख २३ हजार दुई सय हिनामिना गरेकाले दवाडी र बिकलाई जनही २७ लाख २३ हजारद दुई सय बिगो कायम गरी मुद्दा दर्ता गरिएको छ ।

दर्जीसँग संयुक्त हस्ताक्षर गर्ने आरोपी चन्द्रकान्त सुवेदीको हकमा ३३ लाख ७४ हजार चारसय रुपैयाँ बिगो मागदावी गरिएको छ । उनीहरुले हानी नोक्सानी गरेको बिगो उनीहरुबाट असुलउपरको माग अख्तियारले गरेको प्रबक्ता भण्डारीले बताए ।

२०७४ साल साउन ३ गते वडा अध्यक्ष तयराज गुरुङसँग तीन दिनको बिदा लिएर हिँडेका दर्जी अहिलेसम्म सम्पर्कमा छैनन् । लामो समय सम्पर्कमा नरहेकै कारण रामाकोट २ स्याङ्जा घर भएका दर्जीको जागिर स्वतः पदमुक्त भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्