| सोमवार, कार्तिक २३, २०८३

कांग्रेस कार्यकर्ताको चिन्ता : आफ्नैले घात नगरुन्

‘हामीलाई आफ्नैको डर छ, कांग्रेसलाई कांग्रेसकै डर भयो’ गोरखा नगरपालिका १ का वडासभापति गजाधर भट्टले भने । अरुसँग बरु डर छैन ।’ नेपाली कांग्रेस गोरखाले मंगलवार तीनधारे स्थित पार्टी कार्यालयमा आयोजना गरेको नगरपालिका स्तरीय निर्वाचन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । कसले कति भोट ल्याउँछ भन्ने मूल्याङ्कन गरेर स्थानीय तहको टिकट दिनुपर्नेमा उनको जोड थियो ।
गोरखा नगरपालिका १० का नन्दलाल बगालेले तीनसय ६४ दिन कांग्रेस र चुनावको दिन भोट नहाल्नेलाई कारवाही हुनुपर्ने बताए । उनले भने ‘कांग्रेसले भट्टीको संगठन पनि बन्द गर्नुपर्छ र चुनावमा भोट नहाल्ने, घात गर्नेलाई कारवाही गर्नुपर्छ ।’

गोरखा नगरपालिका ३ का दिबश भट्टले टिकट ब्यापारका लागि नभएर समाज सेवाका लागि माग्नुपर्ने बताए । ‘आफुले पाए ठिक, नपाए बेठिक भन्ने होइन । टिकट पाएकालाई हराउनुपर्छ भनेर टिकट नपाएकाहरु हात धोएर लाग्ने होईन । सबै एकै ठाउँमा हुनुपर्छ’, उनले भने ‘यसअघि वडादेखि जिल्लासम्म महाधिवेशनमा आउँदा पराजित हुनुभएकाहरु कहाँकहाँ समेट्नु भएको छ ?’

होमबहादुर पन्तले तल्लो तहमा काम गर्नेको मूल्याङ्कन नेताहरुबाट नभएको गुनासो पोखे । शंकर थापा मगरले गाउँगाउँमा ठूला नेताहरु संगठन बिस्तार गर्न, जनताको गुनासो सुन्न चुनावभन्दा अन्य समयमा पनि आईरहनुपर्ने माग राखे ।
पम्फा गान्धारीले स्थानीय चुनावमा टिकट दिँदा ब्यक्ति हेर्न नहुने र जनताले चाहेको ब्यक्तिलाई टिकट दिनुपर्ने माग राखिन् । रामबाबु जोशीले चुनावमा गरेका बाचा पूरा गरेको वा नगरेको मूल्याङ्कन गर्नुपर्ने बताए ।

शोभा अधिकारीले महिलाहरु पनि नेतृत्वमा अघि बढ्नुपर्ने र प्रमुख पदमा ३३ प्रतिशत नेतृत्व लिन तयार हुनपर्ने बताइन् । सरद श्रेष्ठले पार्टीमा योगदान गरेकालाई टिकट दिने गरी योजना बनाउन सुझाब दिए । डिलबहादुर थापाले टिकट जसले पाए पनि सबै एकजुट भएर कांग्रेस जिताउने अभियानमा लाग्नुपर्ने बताए ।

ओमबहादुर श्रेष्ठले भोट भएकालाई टिकट दिने कि नोट भएकालाई दिने भन्नेमा पार्टी गम्भिर हुनुपर्ने बताए ।
कार्यक्रममा नेताहरुले कार्यकर्ताको गुनासो र माग बारे ध्यानाकर्षण भएको बताएका थिए । कार्यक्रममा धारणा राख्ने अधिकांसले कांग्रेस भित्रै एउटाले टिकट पाउँदा अर्को रिसाउने, चुनावमा असहयोग गर्ने वातावरण सिर्जना हुन नहुने धारणा राखेको प्रबक्ता भगवानबाबु मास्केले बताए ।
नगरसभापति चन्दनबाबु खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले क्षमता, कार्यकुशलता हेरेर चुनाव जित्ने ब्यक्तिले टिकट पाउने बताए । ‘कसले टिकट पायो भन्दा पनि कांग्रेसले चुनाव जित्यो भन्ने बनाउनु तर्फ लाग्नुहोस्’, उनले भने । क्षणिक राजनीतिक प्रतिशोधले कालान्तरमा पछुताउने अवस्था आउने बताउँदै उनले सबै एकजुट हुनुपर्ने बेला यही चुनाव रहेको बताउँदै सबै कुरा बिर्सेर जनताका बिच एकताको सन्देश दिन अनुरोध गरे ।

कार्यक्रममा राष्ट्रिय सभा सांसद एवं कांग्रेस महिला नेतृ कमला पन्त, कांग्रेसका केन्द्रीय प्रतिनिधि नानु बास्तोला, जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, गण्डकी प्रदेश महामन्त्री किरणबाबु श्रेष्ठ, सांसद मनकुमारी गुरुङ, प्रदेश सदस्य बिनाकुमारी श्रेष्ठ, क्षेत्र नम्बर २ का सभापति गोविन्द गुरुङ, क्षेत्र नम्बर २ क का सभापति नारायण गुरुङ, तरुण दलका अध्यक्ष आनन्द गुरुङ लगायतले धारणा राखेका थिए ।

नेपाली कांग्रेस गोरखाले चुमनुब्रीमा वडा स्तरमा चुनावी कार्यक्रम सुरु भएको र अन्य १० वटा पालिकामा सोमबारबाट सकिएको जनाएको छ । दुर्गम भेग भएकाले चुमनुब्रीमा वडा तहमा कार्यक्रम लगिएको प्रबक्ता भगवानबाबु मास्केले बताए ।

प्रतिक्रिया दिनुहोस्