
एमालेसँग गठबन्धनका कुनैपनि दलको चुनावी तालमेल हुँदैन : नेता खतिवडा
नेकपा (एकीकृत समाजवादी)का नेता बिरोध खतिवडाले एमालेसँग अहिले गठबन्धनमा रहेका कुनैपनि दलको चुनावी तालमेल नहुने जिकिर गरेका छन् । मंगलवार गोरखामा पत्रकारहरुसँगको कुराकानीमा उनले भने ‘गठबन्धनका दलहरु बीच चुनावी तालमेलका विषयमा छलफल भइरहेको छ ।
एमालेसँग चाँही गठबन्धनका कुनैपनि दलको तालमेल हुँदैन ।’ एकीकृत समाजवादी र एमाले बिच चुनावी तालमेलको सम्भवना छ कि छैन भन्ने जिज्ञासामा उनले एमालेका अध्यक्ष केपी ओलीले राप्रपासँग चुनावी गठबन्धन गर्ने गृहकार्य गरिरहेको टिप्पणी गरे ।
‘कम्यूनिष्ट भएर पनि कांग्रेससँग गठबन्धन ग¥यो भनेर माधव नेपाल र प्रचण्डलाई विभिन्न टिप्पणी आइरहेको छ’, उनले भने, ‘केपी ओली नागार्जुन(पूर्वराजा) र राप्रपासँग गठबन्धनका लागि धाइरहेका छन् ।’ उनले राजावादीसँग चुनावी तालमेल गर्ने खतिवडाले दाबी गरे ।
आवश्यकता अनुसार सत्ता गठबन्धनका दलहरु बीच चुनावी गठबन्धन हुने बताउँदै उनले स्थानीय तहदेखिकै गठबन्धन गर्न संभव नहुने बताए । ‘सक्दाखेरि गठबन्धन गरेको राम्रो, तर सबै स्थानीय तहमा सकिन्न । उप महानगर र महानगरमा भने गठबन्धन गरेर जाँदा सहज हुन सक्छ’, उनले भने । चारवटै दलका शीर्ष नेताहरुको सहमतिअनुसार गठबन्धन अघि बढ्ने उनले बताए ।
स्थानीय तहमा गठबन्धनभित्र रहेका दुई वा तीन दल बीच पनि सहकार्य हुन सक्ने उनले बताए । ‘जिल्ला स्तरका नेता बसेर आन्तरिक समझदारीमा पालिकाहरुको गठबन्धन हुन सक्छ’ उनले भने ।
कांग्रेससँग चुनावी गठबन्धन नभएमा जनमोर्चा, माओवादी, नेकपा एकीकृत समाजवादी लगायतका दलहरु बीच बाम गठबन्धन हुन सक्ने उनले बताए । गोरखा अस्पतालको नब निर्मित भबन उद्घाटन गर्न उनी गोरखा आएका थिए ।




