
पहिलो प्राथमिकता मुआब्जा बितरण हो : बूढीगण्डकी इकाई प्रमुख श्रेष्ठ
बूढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा बितरण, पुनर्वास तथा पुनस्थापना इकाइका संयोजक इन्जिनियर जगतकुमार श्रेष्ठले पहिलो प्राथमिकता मुआब्जा बितरण रहेको बताएका छन् । इकाईको प्रमुखका रुपमा उर्जा मन्त्रालयबाट सोमवार नियुक्ती लिएपछि उनले भने, ‘अहिलेको मुख्य एजेण्डा घरगोठ, बोटबिरुवाको मुआब्जा बितरण हो, यसलाई अघि बढाउनेछु ।’
यसअघिका इकाई प्रमुख कृष्णबहादुर कार्कीलाई सरकारले धितोपत्र बोर्डमा नियुक्त गरेपछि बूढीगण्डकी इकाई कार्यालय प्रमुखबिहिन भएको थियो । दुई, तीन दिनमा कार्यालय हाजिर हुने नव नियुक्त इकाइ प्रमुख श्रेष्ठले बताए । ‘केही काम बाँकी भएकाले काठमाण्डौँमा छु, अब कार्यालय गएर मुआब्जाको काम कहाँ पुगेको छु, त्यसलाई अघि बढाउनेछु ।’
गोरखा र धादिङ दुबै जिल्लाका मुआब्जा निर्धारण समितिसँग परामर्श गरेर अन्तिम चरणमा पुगेको भए आपूmले उक्त काम छिटो टुङ्ग्याउने उनले बताए । ‘चालु वर्ष बिनियोजन भएको बजेट यसवर्ष नै खर्च गर्नुपर्छ’, दरौँदीसँगको कुराकानीमा उनले भने, ‘आगामि वर्षका लागि थप बजेट फेरि आउनेछ ।’
मुआब्जा बितरणपछि आयोजना कसरी निर्माण गर्ने भन्ने मोडालिटी टुङ्ग्याउनमा आफ्नो ध्यान जाने उनले बताए । ‘अहिलेसम्म बूढीगण्डकी जलविद्युत आयोजना कसरी बनाउने भन्ने टुङ्गो लागेको छैन । यसलाई पनि टुङ्गो लगाउनुपर्नेछ ।’ मोडालिटी तयार भएपछि बिस्तापितहरुको पुनर्बास कसरी गर्ने भन्ने पनि यकिन हुने उनले बताए ।
‘मोडालिटी र पुनर्बास दोस्रो प्राथमिकतामा राखेको छु’, उनले भने । श्रेष्ठ गोरखाको भीमसेन थापा गाउँपालिका बगुवाका हुन् । उनी यसअघि पुल्चोक इन्जिनियरिङ कलेजमा डिन समेत रहेका थिए ।




