
सौरपानीमा आयुर्वेद औषधालयको भवन सिलान्यास
गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ सौरपानीमा निर्माण हुन लागेको आयुर्वेद औषधालय भवनको सोमबार सिलान्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले सोमबार एक कार्यक्रमका बीच भवनको सिलान्यास गरेका हुन् ।
नयाँ भवन बनेपछि स्थानीयहरुले सहजरुपमा स्वास्थ्य सेवा पाउने गाउँपालिका अध्यक्ष भट्टले अपेक्षा व्यक्त गरे । ०७२ सालको भूकम्प पुरानो भवनमा क्षति पु¥याएपछि सरकारले नयाँ भवन बनाउन लागेको हो ।
पुरानो भवनलाई भत्काएर सोही स्थानमा नयाँ भवन निर्माण कार्य सुरु गरिएको सौरपानी आयुर्वेद औषधालयका कविराज निरीक्षक वीरेन्द्र यादवले बताए । २०७८ वैशाख २९ गते भवन निर्माणका लागि सम्झौता भएको र २०७८ मंसीर एक गतेबाट कार्यान्वयनमा आएको उनले जानकारी दिए ।
रु दुई करोड ६१ लाख ५० हजार लागतमा निर्माण हुन लागेको उक्त आयुर्वेद औषधालय भवन निर्माण कार्य २०७९ असोज मसान्त सम्ममा सम्पन्न गरिसक्नुपर्नेछ । हाल भवन जग खनी पर्खाल लगाउने काम भइरहेको छ । अव पिलर उठाउने काम सुरु हुने उनले बताए । दुई तल्लाको भवनमा कर्मचारी, विरामी जाँच गर्ने कोठा, सेवा ग्राहीको लागि प्रतिक्षालय, शौचालय गरेर १८ वटा कोठा हुनेछन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाईको जिल्ला आयोजना कार्यान्वयन इकाई(भवन) मार्फत उक्त भवन निर्माण हुन लागेको हो । भूकम्पपछि स्वास्थ्यचौकी पुनर्निर्माण आयोजना अन्तर्गत उक्त आयुर्वेद औषधालय भवन निर्माण हुन लागेको उनले जानकारी दिए ।
२०५७ सालमा सौरपानीको डाँडा गाउँमा आयुर्वेद औषधालय स्थापना भएको थियो । तर ०७२ सालको भूकम्पले उक्त भवनमा क्षति पु¥याएपछि पाँचवर्षसम्म टेण्टभित्रबाट सेवा प्रबाह भइरहेको थियो । नयाँ भवन बन्ने भएपछि पुरानो ६ कोठे भवनलाई भत्काएर औषधालयको नाममा रहेको दुई रोपनी ५ आनामा जग्गामा नयाँ भवन निर्माण कार्य सुरु गरेको उनले बताए ।
कार्यालयमा कविराज निरीक्षक, एकजना, वैद्य एकजना र औषधी कुटुवा सहित दुईजना कार्यालय सहयोगी रहेको छन् ।
सो औषधालयले विभिन्न समयमा गाउँघरमा क्लिनिक संचालन गर्दै आएको छ । गाउँघरमा पुगेर क्लिनिकमार्पmत स्वास्थ्य परीक्षण गरी स्थानीयहरुलाई निशुल्क रुपमा आयुर्वेदिक औषधी वितरण गर्दै आएको उनी बताउँछन् । ७० वर्ष माथिका जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरी रसायन औषधी र स्तनपायी आमा(सुत्केरी महिला)हरुलाई दूधबर्धक औषधी वितरण गर्ने गरेको उनले जानकारी दिए ।
त्यस्तै, कार्यालयबाट ९ र १० कक्षा अध्ययनरत बालबालिकाहरुलाई विद्यालयस्तरमा आयुर्वेद र योग सम्बन्धी कार्यक्रमहरु पनि संचालन गर्दै आएको छ । उनीहरुलाई योगका बारेमा अभ्यास गर्ने र स्थानीय स्तरमा पाइने जडीबुडीको बारेमा पनि जानकारी गराउने गरेको उनको भनाइ छ ।
यस्तै कार्यालयबाट पूर्वकर्म कार्यक्रम, नागरिक आरोग्य कार्यक्रम(गाउँघर क्लिनिक) कार्यक्रमहरु संचालन हुदै आएको छ ।
केही समय अघि मात्र बारपाक सुलिकोट ताकुकोट र रन्चोकमा गाउँघर क्लिनिक संचालन गरिएको थियो । क्लिनिकमा सहभागी अधिकांशमा बाथरोग, अम्लपित्त, पेट सम्बन्धी रोग, महिला रोग र खोकी लगायतका रोगहरु देखिएको उनले बताए ।
उनीहरु स्वास्थ्य परीक्षणसँगै निशुल्क रुपमा औषधी वितरण गरिएको र स्थानीय जडीबुटीलाई प्रयोग कसरी प्रयोग गर्नेबारेमा सल्लाह सुझाव दिएको उनले बताए ।




