| शनिबार, बैशाख ८, २०८१

बारपाक

राजनीतिक खिचातानीका कारण बारपाकको हिमालय मावि चार महिनादेखि प्रअ बिहिन

गाउँपालिका, वडा अध्यक्ष, विद्यालय व्यबस्थापन समिति र शिक्षकको राजनीतिक खिचातानीका कारण बारपाकको हिमालय मावि गत पुस महिनादेखि नेतृत्वबिहिन भएको छ । पुसको २४ गतेदेखि विद्यालयमा प्रधानाध्यापक नभएको शिक्षक जनीबहादुर घलेले जानकारी दिए ।
प्रधानाध्यापक नहुँदा विद्यालयका ३० जना शिक्षकले चारमहिनादेखि तलब समेत पाएका छैनन् ।
तत्कालीन प्रधानाध्यापक मानप्रसाद बगाले पुस २४ गते जिल्लान्तर सरुवा भएपछि सो पद पूर्ति नभएको घलेले बताए । ‘सहायक प्रअ आकास श्रेष्ठलाई जिम्मेवारी दिने बारे व्यबस्थापन समितिले छलफल गर्दा उहाँले स्वीकार गर्नु भएन । प्रअ पनि नहुने, सहायक प्रअ पनि नहुने भन्दै लेखेर दिनुभयो’ घलेले भने ‘मावि तहका कुनै शिक्षकले पनि मानेनन् । निमावि तहका पनि कोही प्रअ बन्न मञ्जुर हुनुभएको छैन ।’
चार महिनादेखि प्रअ नहुँदा विद्यालय अलपत्र भएको अर्का शिक्षक रामकुमार घले बताउँछन् । ‘हामीले मङ्सीर महिनादेखिको तलब पाएका छैनौं’ उनले भने ‘तीन जना शिक्षक पद खालि भइसक्यो । प्रअ नहुँदा पदपूर्ति गर्न पनि पाएको छैन । पठनपाठन पनि अलपत्र छ ।’ विद्यार्थीको बार्षिक परीक्षा विथोलिने भन्दै आफूहरु धैर्य भएको घलेले बताए ।
विद्यालयको अबस्था बारे समितिले गाउँ शिक्षा कार्यालय तथा जिल्ला शिक्षा कार्यालयमा अवगत गराए पनि बेवास्ता भइरहेको विद्यालयले जनाएको छ ।
मावि, निमावि तहका शिक्षकले विद्यालयको नेतृत्व सम्हाल्न अस्वीकार गरेपछि समितिले प्रावि तहका शिक्षक जनी घलेलाई जिम्मेवारी दिने निर्णय गरेको थियो । समितिको निर्णय गाउँ शिक्षा समितिले अनुमोदन नगरेको बारपाक सुलीकोट गाउँपालिका प्रमुख विष्णु भट्टले बताए । ‘मावि तहका शिक्षक हुनुहुन्छ, निमावि तहका हुनुहुन्छ उहाँहरुलाई मञ्जुर गराउन सक्दो पहल गरौं । अनि मात्र प्राविमा जाउँला’ भट्टले भने ‘यसका लागि हामी प्रयास गरिरहेका छौं ।’
लामो समयसम्म विद्यालय नेतृत्वबिहिन हुँदा त्यहाँ पढ्ने सातसय जना विद्यार्थीको पठनपाठन समेत प्रभावित भएको छ ।
गाउँ शिक्षा कार्यालयले विवाद मिलाउने जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदी बताउँछन् । हामीले त्यहाँको स्थलगत अध्ययन पनि गरेर आएका छौं’ उनले भने ‘गाउँ शिक्षा समितिलाई हामीले समस्या सुल्झाउन आग्रह गरेका छौं ।’
तर राजनीतिक चलखेलका कारण प्रअ नचुनिएको शिक्षक रामकुमार घले बताउँछन् । ‘यो अरु केही होइन, वडा अध्यक्ष, गाउँपालिका अध्यक्ष र विद्यालय व्यबस्थापन समितिको राजनीति नमिलेर यस्तो भएको हो’ घले भन्छन् ‘राजनीतिक तालमेल नमिल्दैमा विद्यालयको सातसय जना विद्यार्थीको भविष्य बिगार्न पाइँदैन ।’ छिटो प्रधानाध्यापक चयन गरेर शिक्षक, विद्यार्थीको समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्