| सोमवार, कार्तिक २३, २०८३

पालुङटारमा रोकिएको २२० केभीएए प्रशारण लाईनको काम सुचारु हुने

लमजुङको उदीपुरदेखि गोरखाको पालुङटार, देउराली हुँदै तनहुँको मार्किचोकसम्मको प्रशारण लाईन बिस्तारको योजना करिब साँढे दुई वर्षपछि अब सुरु हुने भएको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकले पालुङ्टार र गोरखा नगरपालिका क्षेत्रको मुआब्जा निर्धारण गरेपछि बिस्तारको काम अब अघि बढ्ने भएको हो ।


‘प्रतिरोपनी नौदेखि बढीमा ४० लाखसम्म मुआब्जा निर्धारण गरिएको छ’, मस्र्याङ्दी करिडोर २२० केभीएए प्रसारण लाईन आयोजनाका प्रमुख चिरन्तन बिक्रम राणाले भने । आयोजनाका अनुसार गोरखामा ६३ वटा टावर बन्नेछन् । यीमध्ये १० वटा टावर निर्माण गर्ने जग्गाको विबाद अझै बाँकी छ । ५३ वटा मध्ये १५ वटा वन र सार्वजनिक जग्गामा पर्नेछ । बाँकी ३८ वटा जग्गा ७९ कित्ताको १९ रोपनी छ । ‘हामीले यी जग्गाको मुआब्जा तोकेका हौँ’, आयोजना प्रमुख राणाले भने, ‘अहिले बिवाद कायम भएको १० वटा टावरको पनि छिट्टै समस्या हल हुनेछ ।’


यसअघि पालुङटारको हवाईमैदानबाट २२० केभीए प्रशारण लाईन बिस्तार गरिएको थियो । हवाई मैदानले त्यहाँबाट हटाएपछि उक्तलाईन बस्ती क्षेत्रमा परेपछि स्थानीयले अवरोध गरेका थिए । अवरोधका कारण साँढे दुई वर्षदेखि पालुङटार क्षेत्रमा २२० केभीए प्रशारण लाईन बिस्तारको काम रोकिएको थियो ।


‘मालपोतअनुसारको मूल्य, चलनचल्तीको दररेट, बैंकको धितो, स्थानीयसँगको छलफलपछि यो मुआब्जा तोकिएको हो’, आयोजना प्रमुख राणाले भने । पालुङटार क्षेत्रमा बिवाद हुँदा टावर केही घुमाउरो बाटो लगिएको छ । चेपेबाट पालुङटारको पानी टंकी, छापथोक हुँदै धारापानी भएर प्रशारण लाईन गोरखा नगरपालिका १४ हुँदै मार्किचोक जोडिनेछ ।


यो प्रशारण लाईन लमजुङदेखि गोरखा, तनहुँको मार्किचोक, छिम्केश्वरी हुँदै भरतपुरसम्म जोडिनेछ । एकसय १० किलोमिटरको प्रशारण लाईन रहेको आयोजना प्रमुख चिरन्तन बिक्रम राणाले बताए । मस्र्याङ्दीदेखि काठमाण्डौँ सम्मको २२० केभीए प्रशारण लाईन तयार भईसकेको छ । केन्द्रीय प्रशारण लाईनसँग जोडने गरी यो तयार गरिएको आयोजनाले जनाएको छ ।


तनहुँ, लमजुङमा जग्गा अधिकरण सकिएको छ । त्यहाँ धमाधम काम भईरहेको र गोरखाको बिवादले केही समय ढिला भएको आयोजना प्रमुख राणाले बताए । ‘मुआब्जा निर्धारण भयो अब गोरखा तर्फ पनि बिवाद सकिन्छ ।’ मनाङ, लमजुङ, तनहुँ, गोरखा लगायत ठाउँबाट उत्पादन भएको विद्युत केन्द्रीय प्रशारण लाईनमा जोड्न सहज हुने गरी यो प्रशारण लाईन तयार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्