| सोमवार, कार्तिक २३, २०८३

गोरखा प्रहरीले पिडित भेटघाट अभियान चलाउने

गोरखामा नयाँ आएका प्रहरी प्रमुख एसपी केदार खनालले जिल्लाका पिडितहरुको अबस्थाबारे घरदैलोमै भेट्ने अभियान चलाउने जनाएका छन् । बिहिबार गोरखाका पत्रकारहरुसितको भेटघाट कार्यक्रममा उनले समाजमा हुने अपराध न्यूनिकरण गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका थिए ।


चैत १ गतेदेखि गोरखा प्रहरीले पिडितको अवस्थाबारे जानकारी लिने नयाँ कार्यक्रम थाल्ने उनले बताए । ‘बलात्कार, हिंसा वा अन्य कुनैपनि घटनामा पिडक कारागारमा वा अन्यत्र होला तर पिडितको अवस्था कस्तो छ, के गरिरहेका छन् ? कसरी बसेका छन् ? अवस्था के छ भन्ने बुझ्न पिडितको घरमा पुग्ने, भेट्ने अभियान सुरु गर्दैछु ।’

प्रहरीले पिडितको बिवरण तयार गरेर घरघर पुग्ने योजना बनाएको उनले बताए ।
‘फरार प्रतिवादी नियन्त्रणको अभियानमा पनि हामी सक्रिय हुनेछौँ’, एसपी खनालले भने । कानून कार्यान्वयन गर्ने र कानून बिपरीतको काम गर्नेलाई दण्डित गर्ने उनले बताए । नागरिकको सेवा पहिलो प्राथमिकता रहेको बताउँदै उनले सबै पक्ष र क्षेत्रसँगको सल्लाह, सहकार्यमा आफु अघि बढ्ने बताए ।


‘प्रहरीलाई ब्यवशायिक बनाउने मेरो योजना हुनेछ’, उनले भने, ‘सूचना सहज उपलब्ध गराउनेमा मेरो प्रयत्न रहेनेछ ।’ प्रहरीले गर्दै आएका राम्रा काम र गर्नुपर्ने जिम्मेवारीलाई पूरा गर्दै अघि बढ्ने उनले बताए । यसअघि प्रहरी निरीक्षक रहँदा पनि गोरखा बसेका एसपी केदार खनाल जिल्लाको भौगोलिक बस्तुस्थितसँग परिचित छन् ।

प्रतिक्रिया दिनुहोस्