
पञ्चबर्षीय आवधिक योजना पारित गर्दै गण्डकीको नवौँ गाउँसभा सम्पन्न
गोरखाको गण्डकी गाउँपालिकाको नवौँ गाउँसभा सम्पन्न भएको छ । ‘बिबिधतामा एकता गण्डकी बासीको सान, समृद्ध गण्डकी हाम्रो अभियान’ भन्ने नारा सहित आइतबार गाउँपालिकाको नवौँ गाउँसभा भएको हो ।
गाउँसभाले पञ्चबर्षीय आवधिक योजना (२०७८÷७९–२०८२÷८३) पारित गरेको छ । गाउँपालिका खानेपानी बोर्ड स्थापना र ब्यबस्थापन गर्न बनेको ऐन, २०७८ को प्रथम संशोधन गरेको र लेखा समितिले पेश गरेको लेखा समिति प्रतिबेदन समेत पारित गरेको गाउँपालिका रोजगार संयोजक प्रकाश श्रेष्ठले जानकारी दिए ।
चालु आर्थिक वर्ष २०७८÷७९ को आर्थिक ऐनमा संशोधन गर्दै उपभोक्ता समिति मार्फत संचालन हुने योजनाहरुको हकमा ढुंगाको प्रति घनमिटर रू तीन सय बाट घटाएर रू ८० कायम गरिएको उनले बताए ।
निर्माण ब्यबसायी मार्फत हुने योजनाको हकमा भने प्रति घन मिटर रू तीन सय यथाबत् राखिएको साथै उपभोक्ता समिति मार्फत संचालन हुने योजनाहरुमा प्रयोग गरिने डोजर, ब्याकह्यू लोडर, रोलर जस्ता हेभी इक्यूप्मेन्टमा लिईदै आएको १० प्रतिशत बहाल करमा छुट दिने गाउँसभाले निर्णय गरेको अध्यक्ष होमबहादुर रानाले बताए ।
स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा प्राप्त नतिजा ६० दशमलव ७५ र स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकनमा प्राप्त नतिजालाई समेत सभाले अनुमोदन गरेको छ । चालु आर्थिक वर्ष २०७८÷७९ का केहि योजना तथा कार्यक्रम संशोधन प्रस्ताब उपाध्यक्ष ललिता अधिकारीले प्रस्तुत गरेकी थिईन । गाउँपालिकाबाट भएका निर्णयहरुको अनुमोदन तथा खर्च समर्थन गर्दै नवौं गाउँ सभा सम्पन्न भएको हो ।




