
बालमैत्री नगरपालिका घोषणा गर्न गोरखा नगरपालिकाका बालबालिकाको माग
गोरखा नगरपालिकाका बालबालिकाले गोरखा नगरपालिकाले बालमैत्री शासनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । शनिवार सम्पन्न बालभेलामा उनीहरुले बालमैत्री नगरपालिका घोषणा गर्न योजना तर्जुमा गर्नुपर्नेमा जोड दिएका हुन् ।
नगरस्तीय बाल सञ्जालको आयोजनामा भएको बाल भेलामा सबै वडाका गरी एक सय ३१ जनाको सहभागिता थियो । नवीना तिवारीको अध्यक्षतामा भएको भेलामा सहभागी बालवालिकाले बालविकास, बालअधिकार, बालसहभागिताको सुनिश्चितता हुनुपर्ने, हरेक विद्यालयमा छात्रामैत्री शौचालय निर्माण हुनुपर्ने, हरेक वडामा बाल सञ्जाल गठन गरिनुपर्ने, बालश्रम न्यूनिकरणका कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिएका थिए ।
सो बाल भेलालाई अनिल राना मगर र शिबहरी तिमल्सिनाले सहजिकरण गरेका थिए । बाल भेलामा उठेका विषयलाई सम्बोधन गर्दै मेयर राजनराज पन्तले बालबालिकाको मागलाई नगरपालिकाले गम्भीरताका साथ मनन गरी समाधानतर्फ अघि बढ्ने बताए । भेलामा नगरप्रमुख पन्त, उपप्रमुख बिनाकुमारी श्रेष्ठ लगायतको उपस्थिति थियो ।
बालवालिकाले भेलाबाट तयार गरेको प्रस्ताब नगरकार्यपालिकामा पेश हुनेछ र नगरसभासम्म पुग्ने गोरखा नगरपालिका सामाजिक बिकास शाखाका प्रमुख बिजयभक्त उपाध्यायले बताए । बालमैत्री बिभिन्न विषयमा बारेमा भेलामा छलफल तथा अन्तक्रिया भएको थियो । गोरखा नगरपालिकाले हरेकवर्ष बाल भेलासँगै बालवालिकाले मुद्धाका बारेमा उनीहरुबाट सुझाब संकलन गर्दै आएको जनाएको छ ।




